आरजुको फाइल मिलाउन सोमेन्द्र राठौरलाई अपराध अनुसन्धानमा लान देउवाको दबाब
काठमाडौं, ४ भाद्र । नेपाल प्रहरीमा आकर्षक मानिने अपराध अनुसन्धान कार्यालय काठमाडौंमा एसएसपी सामेन्द्र राठौरलाई सरुवा गर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दबाब दिएका छन् । देउवाले पत्नी आरजु देउवाको योजना अनुसार राठौरलाई अपराध अनुसन्धान कार्यालय लान खोजेका हुन् । जसमा नक्कली भुटानी शरणार्थी मामलामा आरजुको फाइल बन्द गर्ने योजना लुकेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुको संलग्नताको प्रमाणहरु अपराध अनुसन्धान कार्यालयले जुटाएपछि देउवाले सिधै प्रचण्डलाई सत्ता समिकरण भत्कने सम्म चेतावनी दिएको बुझिएको छ । उनले अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीको सरुवाको दबाब दिएर राठौरलाई लान भनेका छन् । यसो नभए विकल्प खोज्ने सम्मको चेतावनी दिएको विश्वस्त स्रोतले बताएको छ ।
राठौरलाई त्यहाँ लगेर अपराध अनुसन्धान कार्यालयले चालेका आक्रामक कदमहरुलाई फितलो बनाउन खोजिएको छ । जसमध्ये आरजु देउवा जोडिएको नक्कली भुटानी शरणार्थी सम्बन्धी फाइल पनि रहेको छ ।
आरजुले शेरबहादुर देउवामार्फत् प्रचण्डमाथि ठूलै दबाब बढाएको बुझिएको छ । जसलाई थेग्न प्रचण्डलाई हम्मे परिरहेको छ ।
राठौरलाई अपराध अनुसन्धान कार्यालयमा लान ठूलै सौदावाजी भएको बुझिएको छ । यसले प्रहरीभित्र खैलाबैला नै मच्चिएको छ ।
देउवाको चाहनामा हालैमात्र प्रहरीका एआइजीहरुको सरुवा भइसकेको छ । उपत्यकाबाट श्याम ज्ञवाली सरुवा भएका छन् । यसमा पनि ठूलै चलखेल भएको विश्वस्त स्रोतले बताएको छ ।