२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

सभामुख घिमिरेले घटाउन खोजे पदको गरिमा, पोर्टफोलियो मिचेर एलआरआईमा चिनियाँ नेता चुआनसँग कक्षाकोठा उद्घाटन


0
Shares

काठमाडौं, ८ साउन । जब कुनै शक्तिराष्ट्रका अधिकारीसँग कुनै कार्यक्रम हुन्छ नेपाली नेता र जिम्मेवार अधिकारीहरुले पोर्टफोलियो नै बिर्सिदिन्छन् । कूटनीतिमा अति महत्व मानिने पोर्टफोलियो बिर्सिए सभामुख देवराज घिमिरेले ।

घिमिरे प्रतिनिधि सभाको सभामुख हुन् । तर, उनी चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य चुआन च्या च्युनसँग संयुक्त रुपमा चीन नेपाल मित्रता कक्षाकोठा उद्घाटन गर्न पुगे । उक्त कक्षा कोठा एलआरआई स्कुललाई चीन सरकारले उपहार स्वरुप प्रदान गरेको हो ।

सभामुख देवराघ घिमिरेको पोर्टफोलियो चीनका नेस्नल कँग्रेसका प्रमुख बराबरको हो । चीनमा चाओ लेजी नेस्नल कँग्रेसका प्रमुख छन् ।

नेपाल भ्रमणमा आएका युआन वरियतामा चाओभन्दा निकै तल छन् । चाओ चीनमा वरियतामा तेस्रो स्थानमा छन् ।

चीनमा कम्युनिस्ट पार्टीको सात सदस्यीय स्थायी कमिटी छ । यही कमिटिले चीन हाँक्ने मुख्य भूमिका निर्वाह गर्छ । यो कमिटीमा त्यहाँका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लि काङ, नेस्नल पिपल्स कँग्रेसका प्रमुख चाओ लिजीका अलावा नेताहरु वाङ हुनिङ, काइ की, दिङ सुइसियाङ र लि सी छन् ।

सात जना नेताहरुपछि मात्र पोलिटब्यूरो सदस्यको वरियता सुरु हुन्छ । पोलिटब्यूरोमा नवप्रवेशी चुआन २१औं स्थानमा छन् । यस हिसाबले उनी चीनमा वरियतामा २८औंमा छन् ।

सभामुख घिमिरेले पोर्टफोलियो मिचेर चिनियाँ नेता चुआन च्या च्युनसँग कक्षाकोठाको संयुक्त उद्घाटन गर्नुलाई चासोका साथ हेरिएको छ ।

त्यसो त नेपालका नेताहरुले चिनियाँ नेता चुआनसँग मात्र पोर्टफोलियो मिचेर कक्षा कोठा उद्घाटन गरेका होइनन् । शक्तिराष्ट्रले कुनै सहयोग गरेर केही निर्माण गर्दा नेपालका कतिपय अधिकारीहरु पोर्टफोलियो बिर्सेर उद्घाटनमा सहभागी हुने गरेका छन् । यसले पदकै गरिमा घट्ने खतरा छ । आफ्नै पदको गरिमा घटाउन आफै जिम्मेवार अधिकारीहरु प्रस्तुत हुनुले नेताहरुप्रति वितृष्णा बढ्ने गरेको छ ।

प्रतिक्रिया