प्राज्ञिक विद्यार्थी परिषद्ले नैमिशारण्य गुरुकुल काभ्रेबाट सुरु गर्यो शैक्षिक सामाग्री वितरण
काठमाडौं, २३ असार । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले काभ्रेको नैमिशारण्य गुरुकुलबाट शैक्षिक सामग्री वितरणको शुभारम्भ गरेको छ । शनिवार गुरुकुलका छात्रहरुलाई परिषद्ले शैक्षिक सामग्री वितरण गरेको हो ।
कार्यक्रममा नैमिशारण्य विकास क्षेत्रका अध्यक्ष मुकुन्द उपाध्याय, विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, गुरुकुलका प्राचार्य दिव्यमणि अधिकारीलगायत सामाजिक एवं शैक्षिक व्यक्तित्वहरुको उपस्थिति थियो ।
परिषद्ले देशका कुना काप्चामा पुगेर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै आएको छ । यसवर्ष देशका १५ जिल्लाहरुका विद्यालय स्तरका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने जनाएको छ ।
प्राज्ञिकले तेह्रथुम, संखुवासभा, सिराहा, काभ्रे, सिन्धुली, रौतहट, बारा, मकवानपुर, रुपन्देही, बाग्लुङ, गुल्मी, रोल्पा, कालिकोट, जुम्ला र डडेल्धुरामा शैक्षिक सामाग्री वितरण गर्ने राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीले जानकारी दिए ।
शक्षिक सामाग्रीमा ब्याग, कपी, कलम, रेपिडेक्स पुस्नकल, जमेक्ट्री बक्स, नेपाली वृहत् शब्दकोश, टोली लगायत सामाग्री छन् । ती सामाग्री २५ सय २५ विद्यार्थीलाई वितरण गर्ने जनाइएको छ ।
प्राज्ञिक विद्यार्थी परिषद् कुनैपनि दलको भातृ संगठन होइन । २०५२ सालमा स्थापना भएको परिषद्ले देशका कुनाकाप्चामा पुगेर विद्यार्थी माझबाट असल, कुशल, राष्ट्रप्रेमी, योग्य नागरिक निर्माण गरी समृद्ध र आदर्श राष्ट्र पुननिर्माणमा महत्वपूर्ण भूमिका निभाइरहेको छ ।