८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

परीक्षाफल प्रकाशित गर्दाको तामझाम : कामभन्दा हल्ला बढी, हाउगुजी भयो परीक्षाफल


0
Shares

काठमाडौं, २२ असार। शिक्षा ऐन नआएसम्म एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाटै सञ्चालन हुनेछ । ऐनमा कक्षा १० र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालन गर्ने उल्लेख भएको कारण एसईई परीक्षा बोर्डले नै सञ्चालन गर्नेछ । अर्थात् हरेक वर्ष एसईई परीक्षा हाउगुजी नै हुनेछ ।

हरेक अभिभावकले एसईई परीक्षालाई छोराछोरीको उच्च शिक्षासरह ठान्नेछन् । परीक्षाफल प्रकाशित गर्दाको तामझाम हेर्दा वर्षौंअघि मध्यरातमा परीक्षाफल प्रकाशित गरेजस्तो देखिन्थ्यो अर्थात् विद्यालय तहको अन्तिम परीक्षाको परीक्षाफल प्रकाशित भएको अवस्थाजस्तो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले संघीय शिक्षा ऐन नआएरसम्म बोर्डबाटै परीक्षाफल प्रकाशित गर्नुपर्ने बाध्यता भएको बताउनुभयो । भन्नुभयो– ‘ऐन आएपछि एसईईको विषयमा यस्तो हल्ला हुँदैन । प्रदेशले परीक्षा सञ्चालन गरेपछि हाउगुजी शब्द हट्नेछ ।

‘परीक्षाफल प्रकाशित हुनु एकसाताअघिदेखि विभिन्न मिडियाले समाचार बनाउँछौं, हामीले पनि भ्रम छर्न विभिन्न प्रतिक्रिया दिन्छौं तर एसईई विषय केही होइन माध्यमिक तहको निरन्तर प्रक्रिया हो आत्तिनु पर्दैन भन्न सक्दैनौं’ –अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले भन्नुभयो । उहाँले प्रदेशले गर्ने परीक्षा बोर्डले गरेको कारण समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘परीक्षा व्यवस्थापनदेखि सञ्चालन गर्नेसम्मको अधिकार प्रदेशमा तहतमा सुम्पिए यस्तो होहल्ला हँुदैन । कक्षा १० पास गर्छन् ११ मा पुग्छन्’ –उहाँको भनाइ थियो । ‘साच्चिकै हल्लीखल्ली गरेर पत्रकार सम्मेलन गरी परीक्षाफल प्रकाशित गर्ने त कक्षा १२ को हो । १२ मा कुनै हल्ला हुँदैन एसईईमा देशव्यापी हल्ला चलाइन्छ’ –उहाँको भनाइ थियो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले अब एसईई परीक्षालाई हाउगुजी बनाउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘नियमित प्रक्रिया हो, परीक्षा लिने परीक्षाफल प्रकाशित गर्ने रु यति भए पुग्छ । हल्लाखल्ला गर्नै पर्दैन ।’

२०७३ सालमा भएको शिक्षा ऐनको आठौं संशोधनले विद्यालय शिक्षाको संरचनामा परिवर्तन गरेर १२ कक्षालाई विद्यालय तहको अन्तिम कक्षा हुने व्यवस्था गरेको थियो ।

ऐन संशोधन भएको ७ वर्षसम्म पनि परीक्षा र नतिजा प्रकाशनको शैली पुरानै ढर्रामा चलेको छ । तर, बोर्डका अध्यक्ष महाश्रम शर्माले बोर्डले परीक्षाफल प्रकाशित गरेको कारण नतिजामा सुधार आएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘गतवर्षको भन्दा ३ दशमलव ६ देखि ४ जीपीए ल्याउनेको संख्या झण्डै साढे १२ हजारले बढेको छ । गतवर्ष ९ हजार ६ सय ३३ जना रहेकामा यस वर्ष २२ हजार ४ सय ७५ जना छन् ।

गत वर्ष यो संख्या बढेर कुल परीक्षार्थीको १ दशमलव ९४ प्रतिशत रहेकामा यस वर्ष बढेर ४ दशमलव ६३ प्रतिशत पुगेको छ । गतवर्ष ३ दशमलब २ देखि ३ दशमलब ६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ८ दशमलव ४ प्रतिशत थियो । यस वर्ष बढेर ११ दशमलव ३६ प्रतिशत पुगेको छ ।

अभिभावक महासंघका अध्यक्ष भण्डारीले परीक्षामा सुधार भए पनि पुरानै अवस्था कायम रहेको बताउनुभयो । शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले परीक्षाफल प्रकाशित गर्दा हल्लीखल्ली आवश्यक नभएको बताउनुभयो । ‘कक्षा १२ सम्म माध्यमिक तहको रूपमा परिभाषित गरेपछि १० को परीक्षाफल प्रकाशित गर्दा सामान्य रूपमा गर्नुपर्छ’ –उहाँको भनाइ थियो ।

प्याब्सनका पूर्व अध्यक्ष टीका पुरीले विश्वविद्यालयले जसरी हल्ला नगरी परीक्षाफल प्रकाशित गर्छ, त्यसरी नै एसईईको परीक्षाफल प्रकाशित गर्दा उचित हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो– ‘कक्षा १२ को परीक्षाफल प्रकाशित हुँदा हल्ला सुनेको छैन, विश्वविद्यालयमा हजारौं विद्यार्थीको परीक्षाफल प्रकाशित गर्छ कुनै हल्ला गर्दैन । अहिलेको अवस्थामा एसईई परीक्षाफल प्रकाशित गर्दा हल्ला गर्नुको कुनै औचित्य छैन ।’ उहाँले यो वर्षको परीक्षामा निजी विद्यालयको नतिजा सन्तोषजनक रहेको दाबी गर्नुभयो । समाचारपत्र

प्रतिक्रिया