निर्वाचन आयोगले अद्यावधिक गर्यो कांग्रेसको नयाँ विधान र पदाधिकारीको अभिलेख
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पारित नयाँ विधान र निर्वाचित पदाधिकारीहरूको विवरण अद्यावधिक गरेको छ ।
आयोगको बुधबार बसेको बैठकले कांग्रेसको विधान तथा नयाँ नेतृत्वसम्बन्धी विवरण अभिलेखमा अद्यावधिक गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले बैठकको निर्णयअनुसार कांग्रेसको विवरण अद्यावधिक गरिएको जनाएको छ ।
नेपाली कांग्रेसले गत असोज १९ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन आयोजना गरेको थियो । महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुनुका साथै विधानसमेत अद्यावधिक गरिएको थियो ।
तर, महाधिवेशन सम्पन्न भएको लामो समयसम्म पनि निर्वाचन आयोगले नयाँ विधान र पदाधिकारीहरूको विवरण अद्यावधिक नगर्दा विभिन्न कोणबाट प्रश्न उठ्दै आएका थिए ।
आयोगको पछिल्लो निर्णयसँगै कांग्रेसको नयाँ नेतृत्व र अद्यावधिक विधानले औपचारिक अभिलेखमा स्थान पाएको छ ।




