नेपाली कांग्रेस गुल्मी क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन सम्पन्न, सभापतिमा थापा निर्वाचित
गुल्मी। पूर्व सभापति शेर बहादुर देउवा पक्ष नेपाली कांग्रेस गुल्मी क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन धुर्कोटस्थित हुलाकेमा यही कार्तिक १४ गते सम्पन्न भएको छ। अधिवेशनबाट कृष्ण बहादुर थापा क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको छ।
नेपाली कांग्रेस गुल्मीका जिल्ला संयोजक बेद थापा मगरको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेसका पूर्व सभापति सुरेश चन्द्र भुसालको विशिष्ट आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।
अधिवेशनमा नेपाली कांग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिका सभापति कृष्णप्रसाद खरेललगायत पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। नवनिर्वाचित सभापति कृष्ण बहादुर थापा लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ।
पार्टीको राजनीतिक तथा सांगठनिक गतिविधिमा निरन्तर संलग्न रहँदै आउनुभएका थापा सामाजिक सेवाका क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ। स्थानीयस्तरमा विभिन्न सामाजिक गतिविधि तथा समाजसेवामार्फत योगदान पुर्याउँदै आउनुभएका उहाँको क्षेत्रीय नेतृत्वमा चयनसँगै पार्टीको संगठनात्मक जिम्मेवारी थपिएको छ।
अधिवेशनका क्रममा पार्टीको संगठनात्मक सुदृढीकरण, आन्तरिक एकता, कार्यकर्ताबीच आपसी समन्वय तथा आगामी राजनीतिक कार्यदिशाका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले पार्टीलाई जनस्तरसम्म थप सशक्त बनाउँदै संगठन विस्तार, कार्यकर्ताबीच एकता र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
क्षेत्रीय सभापतिमा निर्वाचित थापासामु पार्टीको संगठन विस्तार, कार्यकर्ताबीच समन्वय र क्षेत्र नं. २ मा संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने जिम्मेवारी रहेको छ। नवनिर्वाचित सभापति कृष्ण बहादुर थापालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अधिवेशन सम्पन्न भएको थियो।


