१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

पशुपति क्षेत्रका आन्दोलित कर्मचारीले रवि लामिछानेलाई सुनाए पीडा, भने– ‘पहिले हाम्रो व्यवस्थापन गरियोस्’


October 31, 2026
996
Shares

काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा कार्यरत आन्दोलित करार तथा ज्यालादारी कर्मचारीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेर आफ्ना पीडा र समस्या सुनाएका छन्।

कोषले नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट कर्मचारी पदपूर्ति प्रक्रिया अघि बढाउन खोजेपछि आन्दोलित कर्मचारीहरूले वर्षौँदेखि सेवा गर्दै आएका कर्मचारीको भविष्य अन्योलमा परेको गुनासो गरेका छन्।

उनीहरूले दुई दशकभन्दा लामो समयदेखि कोषमा कार्यरत कर्मचारीलाई विस्थापित हुने अवस्था सिर्जना नगर्न र पहिले उनीहरूको स्थायी व्यवस्थापन गर्न लामिछानेसमक्ष आग्रह गरेका छन्।

कर्मचारीहरूले एकपटकका लागि विशेष पदपूर्ति समिति गठन गरी अनुभव, योगदान र सेवाको निरन्तरताका आधारमा पुराना कर्मचारीको व्यवस्थापन गर्नुपर्ने माग राखेका छन्।

आफूहरू खुला प्रतिस्पर्धाको विरोधी नभएको स्पष्ट पार्दै उनीहरूले पुराना कर्मचारीको व्यवस्थापनपछि मात्रै बाँकी रिक्त पदमा निष्पक्ष प्रतिस्पर्धाबाट नयाँ नियुक्ति गर्नुपर्ने बताएका छन्।

कोषका भण्डारी, ब्राह्मण, अधिकृत, कार्यालय सहयोगीलगायत कर्मचारी तथा नेपाल वेदविद्याश्रमका शिक्षक र कर्मचारीसमेत नयाँ नियमावलीबाट प्रभावित हुने उनीहरूको भनाइ छ।

वर्षौँसम्म संस्थाका लागि योगदान दिएका कर्मचारीको रोजगारी र भविष्य सुनिश्चित गर्न सम्बन्धित निकायले पहल गर्नुपर्ने मागसहित उनीहरूको आन्दोलन जारी छ।

कर्मचारीहरूले आफूहरू खुला प्रतिस्पर्धाको विरोधी नभएको स्पष्ट पार्दै पहिले लामो समयदेखि कार्यरत कर्मचारीको नियुक्तिको आधार, अनुभव, योगदान र सेवाको निरन्तरताको मूल्याङ्कन गरी व्यवस्थापन गर्नुपर्ने बताएका छन्। त्यसपछि बाँकी रिक्त पदमा मात्रै निष्पक्ष र पारदर्शी खुला प्रतिस्पर्धाबाट नयाँ कर्मचारी नियुक्त गर्नुपर्ने उनीहरूको माग छ।

संस्थाले विभिन्न कठिन परिस्थिति सामना गरिरहेका बेला सीमित स्रोतसाधनका बीच पनि निरन्तर सेवा दिएर कोषको कामकाज सञ्चालनमा सहयोग गरेको स्मरण गराउँदै उनीहरूले अहिले आफ्नै सेवाको सुरक्षा अनिश्चित बनेको गुनासो गरेका छन्।

प्रतिक्रिया