तनहुँ कांग्रेसमा आलेको सनसनीपूर्ण खुलासा : ‘लक्ष्मीभक्तले नै सभापतिमा उठ्न प्रस्ताव गरेका हुन्’
तनहुँ । नेपाली कांग्रेसको तनहुँ जिल्ला सभापति चयनलाई लिएर पार्टीभित्र राजनीतिक सरगर्मी बढिरहेका बेला सभापतिका उम्मेदवार वसन्तबहादुर आलेको एउटा खुलासाले नयाँ तरंग पैदा गरेको छ। वर्तमान जिल्ला सचिव तथा युवा नेता लक्ष्मीभक्त खनालले नै आफूलाई सभापतिमा उम्मेदवारी दिन प्रस्ताव गरेको आलेको दाबी छ। तर खनालले भने उक्त दाबी अस्वीकार गरेका छन्।
आलेको यो अभिव्यक्तिले तनहुँ कांग्रेसको आगामी नेतृत्वका लागि विकसित हुँदै गरेको राजनीतिक समीकरणलाई थप रोचक बनाएको छ। विशेषगरी, खनाल स्वयं पनि जिल्ला सभापतिका आकांक्षी रहेका बेला आलेको दाबी र खनालको खण्डनले कांग्रेसभित्रको शक्ति सन्तुलनबारे विभिन्न अड्कलबाजी सुरु हुन सक्ने देखिएको छ।
नेपाली पेनडटकमसँग कुरा गर्दै आलेले कांग्रेसको केन्द्रीय महाधिवेशन उद्घाटन भएको दिन गत असोज १८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा आफूलाई खनालले जिल्ला सभापतिमा उम्मेदवारी दिन प्रस्ताव गरेको खुलासा गरेका हुन्।
आलेका अनुसार, उनी महाधिवेशन प्रतिनिधिको झोला लिन सानेपा पुगेका बेला पार्टी केन्द्रीय कार्यालय परिसरमै खनालले सभापतिमा उठ्न प्रस्ताव गरेका थिए।
‘पार्टी केन्द्रीय कार्यालय सानेपामा लक्ष्मीभक्त खनालले मलाई जिल्ला सभापतिमा उम्मेदवारी दिन प्रस्ताव गरेका हुन्। हामीबीच सरसल्लाह भइरहेको छ। लक्ष्मीले मलाई नै समर्थन गर्छन्,’ आलेले भने।
तर, आलेको दाबीलाई खनालले अस्वीकार गरेका छन्। आफूले आलेलाई सभापतिमा उम्मेदवारी दिन प्रस्ताव नगरेको स्पष्ट पार्दै खनालले राजनीतिक परिस्थितिअनुसार आफू अघि बढ्ने बताएका छन्।
‘उहाँ हामीभन्दा सिनियर हो। उहाँलाई मैले प्रस्ताव गरेको पनि छैन, छाड्नु भनेको पनि छैन। राजनीति हो, आवश्यक परे लडिन्छ पनि,’ खनालले भने।
खनालले विशेष महाधिवेशन अभियान पक्षधरहरूसँग पनि छलफल भइरहेको जानकारी दिएका छन्। ती छलफलबाट प्राप्त निष्कर्षअनुसार आफू अघि बढ्ने उनको भनाइ छ।
रोचक पक्ष के छ भने, आले खनालका नेविसंघकालीन राजनीतिक गुरुसमेत हुन्। यही सम्बन्धका आधारमा आलेले आगामी जिल्ला अधिवेशनमा खनालबाट आफूलाई सक्दो सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। तर, खनालले समर्थनबारे स्पष्ट प्रतिबद्धता नजनाउँदा दुवै नेताबीचको राजनीतिक समझदारीबारे प्रश्न उब्जिएको छ।
गुरु–चेलाको सम्बन्धले चुनावी समीकरण बदल्ला ?
तनहुँ कांग्रेसको जिल्ला नेतृत्वका लागि कसले कसलाई समर्थन गर्छ भन्ने विषयले अधिवेशनको परिणाममा प्रभाव पार्न सक्ने देखिन्छ। आलेले खनालको प्रस्ताव र समर्थनको दाबी गरिरहँदा खनालले भने आफूलाई कुनै प्रतिबद्धतामा बाँधेका छैनन्।
अब प्रश्न उठेको छ– खनालले वास्तवमै आलेलाई समर्थन गर्लान्, कि उनी आफैं सभापतिको प्रतिस्पर्धामा उत्रिएर नेतृत्वका लागि भिड्लान्रु
जिल्ला अधिवेशन नजिकिँदै गर्दा आलेको दाबी र खनालको खण्डनले तनहुँ कांग्रेसको नेतृत्व प्रतिस्पर्धालाई थप पेचिलो बनाएको छ। आगामी दिनमा नेताहरूबीच हुने छलफल, सहमति र समर्थनले तनहुँ कांग्रेसको नेतृत्वको दिशा तय गर्ने देखिन्छ।


