११ कार्तिक २०८३, बुधबार | October 28, 2026

सरकार ढाल्ने खेल, छठपछि सडक तताउने तयारीमा विपक्षी दल


October 28, 2026
83
Shares

काठमाडौं । छठ पर्व सकिएलगत्तै नेपालको राजनीति फेरि तात्ने संकेत देखिएको छ । एकातिर सरकारविरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने तयारीमा विपक्षी दलहरू छन्, अर्कोतिर प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार भने नढल्ने दाबी सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको छ। के छ त विपक्षीको तयारी ? के साँच्चै सरकार परिवर्तनको खेल सुरु हुन लागेको हो ?

सरकारविरुद्ध मोर्चाबन्दी कस्ने तयारीमा विशेषगरी वामपन्थी दलहरू सक्रिय देखिएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, सामाजिक न्याय, सुशासन र जनजीविकाका सवालमा सरकार अनुदार बन्दै गएको आरोप लगाउँदै आएका छन्। उनले दसैँ, तिहार र छठपछि आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका थिए।

नेकपाले कात्तिक ७ देखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियानसमेत घोषणा गरेको छ। राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक गणतन्त्र, जनजीविका र सुशासनका मुद्दामा अन्य वामपन्थी तथा लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने उसको नीति छ। तर, प्रचण्डले एमालेसँग तत्काल पार्टी एकताको सम्भावना भने नरहेको स्पष्ट पारेका छन्। उता, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सरकारविरुद्ध सशक्त प्रतिवाद गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

एमालेको केन्द्रीय समिति बैठकले सदन र सडकबाट आन्दोलन गर्नुपर्ने निष्कर्ष निकालेको थियो। ओली र प्रचण्डका अभिव्यक्तिले सरकारविरुद्ध वामपन्थी दलहरूबीच मुद्दाका आधारमा सहकार्यको सम्भावना देखाएका छन्। तर, संयुक्त आन्दोलनको ठोस स्वरूप र कार्यतालिका भने स्पष्ट भइसकेको छैन। नेकपाका प्रवक्ता प्रकाश ज्वालाले राष्ट्रियता, संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि वामपन्थी तथा देशभक्त शक्तिसँग सहकार्य गरिने बताएका छन्। तर, सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने सत्ता परिवर्तनको हल्ला अस्वीकार गरेको छ।

सभापति रवि लामिछानेले सरकार नढल्ने दाबी गर्दै विपक्षी दलहरूलाई आन्दोलनबाट होइन, निर्वाचनबाट सरकार परिवर्तन गर्न आग्रह गरेका छन्। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले पनि सरकारका गलत कामको खबरदारी गर्नु र सरकार ढाल्ने उद्देश्यले विरोध गर्नु फरक विषय भएको बताएका छन्। उता, रास्वपाभित्रै सरकारको कार्यशैलीप्रति असन्तुष्टि रहेको र सभापति लामिछानेले विपक्षी नेताहरूसँग संवाद गरिरहेको विषय राजनीतिक वृत्तमा चर्चामा छ। यद्यपि, सरकार ढाल्न पार्टीभित्रै कुनै समूह सक्रिय रहेको दाबीलाई सम्बन्धित नेताहरूले अस्वीकार गरेका छन्। यसैबीच, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले चुनावबाट बनेको सरकारलाई पटकपटक ढाल्ने चर्चा गर्नु देशलाई फेरि राजनीतिक अनिश्चिततातर्फ धकेल्ने जोखिम भएको बताएका छन्।

उनले संविधानको परिधिभित्र रहेर निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिन र असफल भए अर्को निर्वाचनबाट प्रतिस्थापन गर्नुपर्ने धारणा राखेका छन्। अब प्रश्न छ—छठपछि विपक्षी दलहरूको तयारी सडक आन्दोलनमा रूपान्तरण होला, कि सरकारविरुद्धको दबाब राजनीतिक वक्तव्यमा मात्रै सीमित रहला ? विपक्षीको रणनीति र सरकारको जवाफले आगामी दिनको राजनीतिक दिशा तय गर्नेछ।

प्रतिक्रिया