११ कार्तिक २०८३, मंगलबार | October 27, 2026

देउवा पक्षको कांग्रेस गुल्मी महाधिवेशनको तयारीमा, कार्तिक २० गते जिल्ला अधिवेशन


October 27, 2026
1.4k
Shares

गुल्मी । नेपाली कांग्रेसको संस्थापन पक्षभित्रको नेतृत्व विवाद र महाधिवेशनको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला शेरबहादुर देउवा पक्षले गुल्मीमा १५औँ केन्द्रीय महाधिवेशनको तयारी तीव्र पारेको छ।

नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समिति गुल्मीले आज पत्रकार सम्मेलन गरी जिल्ला तथा क्षेत्रीय अधिवेशनको मिति सार्वजनिक गरेको हो। समितिका अनुसार आगामी कार्तिक १४ गते क्षेत्र नम्बर २ र कार्तिक १५ गते क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशन हुनेछ। जिल्ला अधिवेशन भने कार्तिक २० गते जिल्ला सदरमुकाम तम्घासमा आयोजना गरिनेछ।

पत्रकार सम्मेलनमा तयारी समितिका संयोजक वेदबहादुर थापा मगर, सचिव रवीन्द्र घिमिरे, नेपाली कांग्रेस गुल्मीका पूर्वसभापति सुरेश भुसाल तथा तरुण दलका पूर्वकेन्द्रीय सदस्य पूर्णबहादुर केसीलगायतले पत्रकारका जिज्ञासाको जवाफ दिएका थिए।

समितिले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनलाई पार्टीको ऐतिहासिक विरासत, मूल जिम्मेवारी र स्वाभाविक विधि तथा प्रक्रियाको निरन्तरताका रूपमा व्याख्या गरिएको छ। पार्टीको नेतृत्व र महाधिवेशनको आधिकारिकतासम्बन्धी प्रश्न सर्वोच्च अदालतमा विचाराधीन रहे पनि नियमित महाधिवेशन नै पार्टीको आधिकारिक मूल प्रक्रिया भएको समितिको दाबी छ।

राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई प्राथमिकता

समितिले महाधिवेशनको सन्दर्भमा राष्ट्रियता, प्रजातन्त्र, समाजवाद तथा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएको छ। जननायक बीपी कोइरालाले अघि सारेको राष्ट्रियता र प्रजातन्त्रबीचको सहकार्यबाट मात्रै राष्ट्रको समुन्नति सम्भव हुने मान्यतालाई आत्मसात् गर्दै प्रजातान्त्रिक समाजवादलाई व्यवहारमा लागू गर्नुपर्नेमा विज्ञप्तिले जोड दिएको छ।

त्यसैगरी लोकतन्त्रको संस्थागत विकास, विधिको शासन, भ्रष्टाचार नियन्त्रण र सुशासनलाई पार्टीको प्राथमिकतामा राखिएको छ। देशमा उत्तरदायी र पारदर्शी शासन स्थापित गर्न कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको समितिको भनाइ छ।

राष्ट्रिय राजनीतिक विषयमा नेपाली जनताको निर्णयलाई सर्वोपरि मान्नुपर्ने उल्लेख गर्दै समितिले विदेशी शक्तिको इशारा र चलखेलप्रति सचेत रहनुपर्ने धारणा पनि सार्वजनिक गरेको छ। लोकतन्त्रको मजबुती, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार र लोककल्याणकारी राज्यलाई पार्टीले केन्द्रमा राख्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

नेपाली कांग्रेस स्थापनाकालदेखि नै जनताको अधिकार, राष्ट्रियता र लोकतन्त्रका पक्षमा संघर्ष गर्दै आएको शक्ति भएको उल्लेख गर्दै समितिले पार्टीलाई कमजोर बनाउने प्रयासप्रति सचेत रहन नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ।

पार्टीका प्रत्येक सदस्यले पार्टीको सिद्धान्त, विधि र प्रक्रियाको पालना तथा रक्षाका लागि प्रतिबद्ध रहनुपर्ने समितिको भनाइ छ। लोकतन्त्र र मानवअधिकारका लागि संघर्ष गर्ने सहिदहरूको योगदानका कारण गुल्मी जिल्लाको राजनीतिक पहिचान विशिष्ट रहेको उल्लेख गर्दै समितिले आसन्न अधिवेशनलाई सफल बनाउन पार्टीका सदस्य, शुभेच्छुक र समर्थकसँग सहयोगको अपिल गरेको छ।

समितिले राजनीतिक दल, तीनै तहका सरकार, जनप्रतिनिधि, पत्रकार तथा विभिन्न संघसंस्थालाई समेत अधिवेशनमा उत्साहपूर्ण सहभागिता र सहयोगका लागि अनुरोध गरेको छ।

कार्तिक १० गते सार्वजनिक गरिएको विज्ञप्तिमा संयोजक वेदबहादुर थापा मगरले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया