गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस कस्तो बन्ला ?
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा नयाँ अध्याय सुरु भएको छ ।
पुस्तान्तरण र संगठनात्मक सुधारको एजेन्डा उठाउँदै आएका गगनकुमार थापा भारी मतान्तरसहित नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा आगामी चार वर्षका लागि पार्टीको नेतृत्वमा पुगेका हुन्।
निर्वाचन समितिका अनुसार कुल ७ हजार ३१७ मतदातामध्ये ७ हजार ३९ मत खसेको थियो।
थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत पाए। थापा ६ हजार २०९ मतको विशाल अन्तरले विजयी भए।
यो परिणाम केवल चुनावी जित मात्र होइन, कांग्रेसभित्र नेतृत्व परिवर्तनको एजेन्डाले पाएको बलियो समर्थनका रूपमा पनि हेरिएको छ।
२०३३ साल साउन ४ गते सोलुखुम्बुमा जन्मिएका गगन थापाको राजनीतिक यात्रा २०४६ सालको जनआन्दोलनबाट सुरु भएको थियो।
नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीतिमा सक्रिय उनी त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्य हुँदै सचिव र सभापतिसम्म बने। त्यसपछि नेविसंघको केन्द्रीय उपाध्यक्ष र महामन्त्रीको जिम्मेवारी सम्हाले।
२०६२–६३ को जनआन्दोलनमा राजतन्त्रविरुद्ध ओजपूर्ण भाषण गर्दै उनी राष्ट्रिय राजनीतिमा चर्चित बने।
पार्टीभित्र पुस्तान्तरण र संगठनात्मक सुधारको आवाज उठाउँदै आएका थापा १२औँ महाधिवेशनमा सर्वाधिक मतसहित केन्द्रीय सदस्य निर्वाचित भए।
१३औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार बनेका उनी १४औँ महाधिवेशनमा भने सर्वाधिक मतसहित महामन्त्री निर्वाचित भए।
२०६४ सालमा संविधानसभा सदस्य बनेका थापा त्यसपछि २०७०, २०७४ र २०७९ सालका निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए।
२०७३ सालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका उनले स्वास्थ्य क्षेत्रमा सुधारका प्रयाससमेत गरेका थिए।
गत पुसमा विशेष महाधिवेशनमार्फत नेतृत्वमा पुगेका थापा अब १५औँ महाधिवेशनको निर्वाचनबाट औपचारिक रूपमा सभापति निर्वाचित भएका छन्।
तर, नयाँ नेतृत्वसँगै चुनौती पनि उत्तिकै छन्।
पार्टीभित्रको एकता कायम राख्ने, संगठनलाई बलियो बनाउने, युवा पुस्ताको अपेक्षा पूरा गर्ने र कांग्रेसप्रति जनताको विश्वास बढाउने जिम्मेवारी अब थापाको काँधमा आएको छ।
अब प्रश्न छ—गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस कस्तो बन्ला ?
परिवर्तनको नारालाई व्यवहारमा उतार्न उनी कति सफल होलान् ?
कांग्रेसको नयाँ यात्रालाई तपाईं कसरी हेर्नुहुन्छ ? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्।


