२२ आश्विन २०८३, बिहिबार | October 9, 2026

नेपाली कांग्रेस प्रतिस्पर्धाबाट आत्मशुद्धीतर्फ


October 8, 2026
581
Shares

बद्री अर्याल । नेपाली कांग्रेसको अधिवेशन केवल नेतृत्व चयन गर्ने संवैधानिक प्रक्रिया मात्र होइनस यो पार्टीको नीति, विचार, दृष्टिकोण, संगठनात्मक संस्कार, राजनीतिक चरित्र र आगामी यात्राको पुनर्मूल्याङ्कन गर्ने महत्वपूर्ण अवसर हो। लोकतान्त्रिक पार्टीका लागि अधिवेशन आफैंमा आत्मसमीक्षा, आत्ममूल्याङ्कन र आत्मशुद्धीकरणको पर्व हुनुपर्छ। विगतका उपलब्धिको समीक्षा गर्दै कमजोरी स्वीकार गर्ने, बदलिँदो समयको माग बुझ्ने र भविष्यका चुनौती सामना गर्न नयाँ राजनीतिक दृष्टिकोण निर्माण गर्ने अवसरका रूपमा अधिवेशनलाई उपयोग गर्न सक्नुपर्छ। तर पछिल्ला अधिवेशनहरूको अभ्यासलाई हेर्दा यस्तो गम्भीर वैचारिक बहस अपेक्षाकृत कमजोर हुँदै गएको अनुभूति हुन्छ। नीति र कार्यक्रमभन्दा व्यक्तिगत महत्वाकांक्षा, नैतिकताको पाठभन्दा पदको दौड, संगठन निर्माणभन्दा गुटगत समीकरण र दृष्टिकोण निर्माणभन्दा एकले अर्कोलाई कसरी कमजोर बनाउने भन्ने प्रवृत्ति हाबी हुँदै गएको देखिन्छ। नेतृत्वका लागि प्रतिस्पर्धा स्वाभाविक हो, तर प्रतिस्पर्धाले जब विचारलाई विस्थापित गर्छ, तब लोकतान्त्रिक अभ्यास पनि संगठन कमजोर बनाउने माध्यम बन्न सक्छ।

प्रतिस्पर्धा नीति र परिवर्तनका लागि
वडादेखि केन्द्रसम्म नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतान्त्रिक पार्टीको स्वाभाविक प्रक्रिया हो। कांग्रेसको जीवन्तता पनि यही प्रतिस्पर्धामा निर्भर छ। नयाँ नेतृत्व आउनुपर्छ, पुरानो नेतृत्वको मूल्याङ्कन हुनुपर्छ, फरक विचार र दृष्टिकोणबीच बहस हुनुपर्छ। तर प्रतिस्पर्धाको उद्देश्य संगठनलाई बलियो बनाउने हुनुपर्छ, विभाजनलाई गहिरो बनाउने होइन। प्रतिस्पर्धा विचार र कार्यक्रमका बीच भयो भने त्यसले पार्टीलाई समृद्ध बनाउँछ। तर प्रतिस्पर्धा व्यक्तिविरुद्ध व्यक्ति, समूहविरुद्ध समूह र गुटविरुद्ध गुटमा सीमित भयो भने त्यसले संगठनभित्र अविश्वास, असन्तुष्टि र निराशा बढाउँछ। निर्वाचन जित्ने र हार्नेभन्दा ठूलो प्रश्न निर्वाचनपछि पार्टी कति एकताबद्ध, ऊर्जाशील र जनमुखी बन्छ भन्ने हो।अब कांग्रेसले अधिवेशनको बहसलाई ‘को सभापति बन्नेरु’ भन्ने प्रश्नमा सीमित राख्नु हुँदैन। मूल प्रश्न हुनुपर्छ,‘कांग्रेस कस्तो बन्नेरु’ र त्यसपछि अर्को प्रश्न,‘कांग्रेसले कस्तो नेपाल बनाउनेरु’

देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ। उत्पादन कमजोर छ, कृषि संकटमा छ, युवा जनशक्ति रोजगारीका लागि विदेशिन बाध्य छ, उद्यमशीलताका लागि वातावरण अझै सहज छैन। राज्यको सेवा प्रवाहप्रति नागरिकको अपेक्षा बढेको छ। प्रविधिले नागरिकलाई पहिलेभन्दा धेरै सचेत, प्रश्नमुखी र जवाफदेहिता खोज्ने बनाएको छ। यस्तो अवस्थामा कांग्रेसको अधिवेशनमा आर्थिक राष्ट्रवाद, उत्पादन, उद्यमशीलता, रोजगारी, आत्मनिर्भरता, सुशासन, सामाजिक न्याय र अवसरको समान पहुँचजस्ता विषय केन्द्रमा आउनुपर्छ।कांग्रेसको नयाँ राजनीतिक प्रतिस्पर्धा अब केवल अन्य दलसँग होइन, बदलिँदो समयसँग पनि हो। नयाँ पुस्ताले कांग्रेसको इतिहासलाई सम्मान गर्छ, तर इतिहासकै आधारमा आफ्नो भविष्य सुरक्षित भएको विश्वास गर्दैन। उसले परिणाम खोजेको छ, अवसर खोजेको छ, रोजगारी खोजेको छ, पारदर्शिता खोजेको छ र नेतृत्वसँग जवाफ मागेको छ। त्यसैले कांग्रेसले इतिहासको गौरवलाई भविष्य निर्माणको ऊर्जामा बदल्न सक्नुपर्छ।

गुटगत प्रतिस्पर्धा र राष्ट्रिय आकांक्षा
समयले अब कांग्रेससँग नेतृत्व परिवर्तनभन्दा नेतृत्वको चरित्र परिवर्तनको प्रश्न गरिरहेको छ। पार्टीभित्र नैतिकता, अनुशासन, आचरण, जिम्मेवारी र सार्वजनिक जवाफदेहिताको संस्कार बलियो बनाउन आवश्यक छ। राजनीतिलाई पद प्राप्त गर्ने माध्यमका रूपमा होइन, समाज र राष्ट्र परिवर्तन गर्ने साधनका रूपमा पुनःस्थापित गर्नुपर्छ।आत्मशुद्धीकरणको अर्थ कसैलाई दोषी ठहर गर्नु होइन। यसको अर्थ आफूभित्र पनि कमजोरी छन् भनेर स्वीकार गर्ने साहस हो। नेतृत्वले आफूलाई प्रश्न गर्न सक्नुपर्छ—मैले पार्टीलाई के दिएँरु कार्यकर्तालाई के अवसर दिएँरु जनताको जीवनमा के परिवर्तन ल्याएँरु सार्वजनिक पदमा हुँदा मेरो आचरण कस्तो रह्योरु मैले आलोचनालाई कसरी लिएँरु मैले फरक विचार राख्ने साथीलाई सम्मान गरेँ कि शत्रु ठानेँरु यस्ता प्रश्नहरू अधिवेशनका वास्तविक प्रश्न बन्नुपर्छ।

कांग्रेसको संगठन केही सीमित व्यक्तिको वरिपरि घुम्ने होइन, कार्यकर्ताको क्षमता, योगदान, विचार, चरित्र र जनसम्बन्धका आधारमा नेतृत्व विकास हुने प्रणालीतर्फ अघि बढ्नुपर्छ। वडा तहमा सक्रिय कार्यकर्ताले आफ्नो योगदानको मूल्याङ्कन भएको महसुस गर्नुपर्छ। युवा पुस्ताले अवसर पाउनुपर्छ। महिलाको सहभागिता र नेतृत्वलाई औपचारिक प्रतिनिधित्वमा मात्र सीमित नगरी निर्णय प्रक्रियामा प्रभावकारी भूमिका दिनुपर्छ। अनुभवी पुस्ताको ज्ञान र नयाँ पुस्ताको ऊर्जा जोडिनुपर्छ।अधिवेशन गुट निर्माण गर्ने थलो होइन, दृष्टिकोण निर्माण गर्ने थलो बन्नुपर्छ। बहस हुनुपर्छ, तर देशको भविष्यका लागि।प्रतिस्पर्धा हुनुपर्छ,तर नीति र कार्यक्रमका लागि। नेतृत्वको आकांक्षा हुनुपर्छ, तर जिम्मेवारी बहन गर्ने क्षमता र नैतिक साहससहित।आलोचना हुनुपर्छ,तर विनाशका लागि होइन, सुधारका लागि।

कांग्रेसले अब संगठनभित्रको प्रतिस्पर्धालाई पनि नयाँ संस्कार दिनुपर्छ। निर्वाचन जितेपछि विजयी पक्षले सबैलाई समेट्ने र पराजित पक्षले पनि लोकतान्त्रिक परिणामलाई स्वीकार गर्दै संगठन निर्माणमा योगदान दिने संस्कृति विकास गर्नुपर्छ। चुनाव सकिएपछि गुट सकिनुपर्छस जिम्मेवारी सुरु हुनुपर्छ। नेतृत्व चयनको दिनभन्दा नेतृत्वले काम गर्ने दिन महत्वपूर्ण हुनुपर्छ।आज कांग्रेसका अगाडि एउटा ऐतिहासिक अवसर छ। उसले आफ्नो लामो इतिहास, लोकतान्त्रिक संघर्ष र जनविश्वासलाई नयाँ युगको आवश्यकता तथा नयाँ पुस्ताको आकांक्षासँग जोड्न सक्छ। त्यसका लागि कांग्रेसले विगतको गौरवमा मात्र होइन, भविष्यको सम्भावनामा पनि विश्वास गर्नुपर्छ।अब कांग्रेसलाई आवश्यक छ,अवाञ्छित प्रतिस्पर्धाबाट स्वस्थ प्रतिस्पर्धातर्फ, गुटगत आग्रहबाट संगठनात्मक एकतातर्फ, अहंकारबाट आत्मशुद्धीतर्फ र व्यक्तिगत महत्वाकांक्षाबाट राष्ट्रिय आकांक्षातर्फको यात्रा।

अन्तमा, नेपाली कांग्रेसको आगामी अधिवेशन केवल नयाँ पदाधिकारी चयन गर्ने अधिवेशन नबनोस्स यो नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अधिवेशन बनोस्। नेतृत्व परिवर्तनसँगै नेतृत्वको सोच, शैली र चरित्रमा पनि परिवर्तन आउनुपर्छ। पार्टीभित्रको प्रतिस्पर्धाले कांग्रेसलाई विभाजित होइन, अझ सक्षम बनाउनुपर्छ।कांग्रेसले अब आफ्ना कार्यकर्तालाई केवल चुनाव जिताउने शक्ति होइन, राष्ट्र निर्माण गर्ने शक्ति बनाउनुपर्छ। अधिवेशनबाट नेतृत्व मात्र होइन, दिशा पनि तय हुनुपर्छ। व्यक्तिको विजयभन्दा विचारको विजय, गुटको विजयभन्दा संगठनको विजय र पदको विजयभन्दा राष्ट्रको विजय ठूलो बन्नुपर्छ।यही यात्राले नेपाली कांग्रेसलाई वर्तमानको चुनौती सामना गर्न सक्ने, नयाँ पुस्ताको विश्वास जित्न सक्ने र भविष्यको समृद्ध नेपाल निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने पार्टीका रूपमा पुनः स्थापित गर्न सक्छ।  (अर्याल जय नेपाल फाउण्डेशनका अध्यक्ष हुन् ।

प्रतिक्रिया