कांग्रेसको १५औँ महाधिवेशनः पेशागत विज्ञ कोटाबाट इ. रबिन्द्र अधिकारीको उम्मेदवारी
दमौली । नेपाली कांग्रेसका युवा नेता इ. रबिन्द्र अधिकारीले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत पेशागत विज्ञ कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गराएका छन्।
अधिकारीले आज दमौलीमा उम्मेदवारी दर्ता गराएका हुन्। व्यास नगरपालिका–८ बाट पेशागत विषयविज्ञतर्फ क्षेत्रीय प्रतिनिधिमा चयन भएका अधिकारीले अब केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
इन्जिनियरिङ पेसा, विद्यार्थी राजनीति र पेशागत संगठनमा सक्रिय अधिकारीले आफ्नो अनुभव र विज्ञतालाई पार्टीको नीति निर्माण तथा निर्णय प्रक्रियामा जोड्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।
नेपाली कांग्रेसको विधानले कानून व्यवसायी, चिकित्सक, इन्जिनियर, स्वास्थ्यकर्मी, चार्टर्ड एकाउन्टेन्ट, पत्रकार, शिक्षक, प्राध्यापक, प्राज्ञ तथा अवकाशप्राप्त राष्ट्रसेवकजस्ता पेशागत क्षेत्रका विज्ञलाई पार्टीको मूलधारमा सहभागी गराउने व्यवस्था गरेको छ।
पेशागत विज्ञलाई महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी गराउनु ज्ञान, दक्षता, अनुभव र विशेषज्ञताको सम्मान भएको अधिकारीको भनाइ छ। उनले पेशागत क्षेत्रबाट प्राप्त अनुभवलाई राजनीतिक जिम्मेवारीसँग जोड्दै पार्टीको नीति निर्माणमा योगदान पुर्याउने लक्ष्य लिएको बताएका छन्।
सम्पत्ति मूल्यांकनकर्ता इन्जिनियरहरूको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएशन ९एनभिए० का वर्तमान सचिव अधिकारीले पेशागत क्षेत्रको प्रतिनिधित्व गर्दै पार्टीभित्र आफ्नो भूमिका प्रभावकारी बनाउने बताएका छन्।
उनी उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्व विज्ञ सञ्चालकसमेत हुन्। उक्त संस्थामा उनले करिब एक वर्ष कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए।
विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसमा सक्रिय अधिकारी नेपाल विद्यार्थी संघ, एड्भान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका संस्थापक सदस्य, पूर्व इकाई अध्यक्ष तथा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० का कोषाध्यक्षका रूपमा काम गरिसकेका छन्।
इन्जिनियरिङ पेसासँगै विद्यार्थी राजनीति र पेशागत संगठनमा लामो समयदेखि सक्रिय अधिकारीको उम्मेदवारीलाई कांग्रेसको नीति निर्माणमा पेशागत अनुभव र विज्ञताको प्रतिनिधित्वसँग जोडेर हेरिएको छ।
उनले पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा पेशागत क्षेत्रको ज्ञान, अनुभव तथा विशेषज्ञतालाई प्रभावकारी रूपमा स्थापित गर्ने लक्ष्यसहित महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन्।


