जापानमा लक्ष्मी राजवंशीको मृत्यु : हत्या आशंकामा तीन नेपाली पक्राउ
जापान । जापानको फुकुओका सहरमा नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको रहस्यमय मृत्यु प्रकरणमा संलग्न भएको आशंकामा तीन नेपाली पक्राउ परेका छन्।
जापानी सञ्चारमाध्यम जापान टुडेका अनुसार फुकुओका प्रहरीले मंगलबार सञ्जु तामाङ, अस्मिता तामाङ र प्रवीन लामालाई पक्राउ गरेको हो। उनीहरूमाथि २५ वर्षीया नेपाली विद्यार्थी राजवंशीको हत्या गरेको आशंका गरिएको छ।
प्रहरीका अनुसार गत अगस्टमा फुकुओकाको तेन्जिन क्षेत्रस्थित नाका नदीमा राजवंशीको शव फेला परेको थियो। सन् २०२३ को मे महिनातिर विद्यार्थी भिसामा जापान पुगेकी राजवंशीको मृत्युको घटनाले नेपाली समुदायमा समेत चासो बढाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार अगस्ट १८ राति करिब ११ः३० बजेदेखि १९ गते बिहान १२ः१५ बजेसम्म राजवंशीमाथि फुकुओकास्थित उनको घरमा आक्रमण भएको आशंका गरिएको छ। प्रहरीले टाउकोमा भाँडाले प्रहार गर्नुका साथै डोरीले घाँटी थिचिएको र त्यसपछि तेस्रो तलाको बाल्कोनीबाट नदीमा खसेर डुबेको हुनसक्ने प्रारम्भिक निष्कर्ष निकालेको जनाएको छ।
पक्राउ परेका सञ्जु तामाङ राजवंशीले डेट गरिरहेका व्यक्तिसँग एउटै घरमा बस्दै आएको प्रहरीको भनाइ छ। अनुसन्धानका क्रममा सञ्जुले राजवंशीमाथि आक्रमण गरी तेस्रो तलाको बाल्कोनीबाट खस्न बाध्य बनाएको आशंका गरिएको छ।
घटनाको भोलिपल्ट बिहान करिब ५ः४५ बजे एक यात्रुले नाका नदीमा पानीमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। उद्धार गरी बाहिर निकालिएपछि राजवंशीलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो।
प्रहरीले घटनाको कारण, घटनामा तीनै जनाको भूमिकालगायत विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
यद्यपि पक्राउ पर्नु मात्र दोषी ठहर हुनु होइन। तीनै जनामाथि लागेको आरोप अनुसन्धानकै क्रममा रहेकाले अदालतबाट दोषी प्रमाणित नभएसम्म उनीहरूलाई आरोपितका रूपमा मात्र हेरिनुपर्नेछ।


