देउवा, गगन,खड्का, शशाङ्क र शेखरलाई सन्यास लिन कडा चेतावनी !
काठमाडौं । नेपाली कांग्रेसभित्रको गुटगत संघर्ष, नेतृत्व विवाद र बढ्दो ध्रुवीकरणबीच पार्टी एकताका लागि विशालनगरबाट नयाँ राजनीतिक दबाब सिर्जना भएको छ। नेता डा। शेखर कोइरालाको आयोजनामा काठमाडौंको विशालनगरस्थित सम्पर्क कार्यालयमा बसेको प्रभावशाली केन्द्रीय नेताहरूको बैठकले कांग्रेसलाई विभाजन र गुटबन्दीबाट जोगाउन शीर्ष नेतृत्वमाथि नै निर्णायक दबाब बढाउने संकेत दिएको छ।
करिब ४० जना केन्द्रीय नेताको सहभागिता रहेको बैठकमा पार्टीको वर्तमान अवस्था, आगामी राजनीतिक दिशा र सम्भावित विभाजन रोक्ने उपायबारे गम्भीर छलफल भएको थियो। बैठकमा सहभागी नेताहरूले फरक–फरक गुट र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिएका थिए।
बैठकमा केन्द्रीय सदस्य अम्बिका बस्नेतले विषय प्रवेश गराउँदै कांग्रेसको वर्तमान संकट केवल नेतृत्वको विवाद नभई पार्टीको भविष्यसँग जोडिएको प्रश्न भएको धारणा राख्नुभएको थियो।
देउवालाई ‘सर्वोच्च नेता’ बनाउने प्रस्ताव
बैठकमा केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझीले पार्टी एकताका लागि असामान्य तर स्पष्ट राजनीतिक प्रस्ताव अघि सार्नुभयो। उहाँले वर्तमान सभापति शेरबहादुर देउवालाई ‘सर्वोच्च नेता’को हैसियत दिएर तत्काल एकता महाधिवेशनतर्फ अघि बढ्नुपर्ने प्रस्ताव राख्नुभयो।
रायमाझीको प्रस्ताव त्यतिमै सीमित रहेन। उहाँले कांग्रेसका पाँच शीर्ष नेता—शेरबहादुर देउवा, गगन थापा, पूर्णबहादुर खड्का, शशाङ्क कोइराला र शेखर कोइरालामाथि नै पार्टी जोगाउने वा बाटो खाली गर्ने प्रश्न तेर्स्याउनुभयो।
उहाँको भनाइ थियो, ‘तपाईंहरू पाँच जना शीर्ष नेताहरू मिलेर पार्टी जोड्न सक्नुहुन्छ भने मिलाउनुस्, होइन भने बाटो छोडिदिनुस्—हामी आफैँ कांग्रेस मिलाउँछौँ।’
रायमाझीको यो अभिव्यक्तिले कांग्रेसभित्र नेतृत्व पुस्तामाथि बढ्दो असन्तुष्टिलाई सतहमै ल्याएको छ। पार्टीलाई गुट, भागबन्डा र व्यक्तिगत नेतृत्वको प्रतिस्पर्धाबाट मुक्त गरेर नयाँ ढंगले अघि बढाउनुपर्ने दबाब बैठकबाट प्रस्ट देखिएको छ।
‘अब शीर्ष नेतृत्वले निर्णय गर्नुपर्छ’
बैठकले कांग्रेसभित्रको वर्तमान संकट समाधानका लागि शीर्ष नेतृत्वले नै निर्णायक कदम चाल्नुपर्ने निष्कर्ष निकालेको छ। नेताहरूले पार्टी विभाजनको जोखिम बढ्दै गएको अवस्थामा नेतृत्वले समयमै सहमति खोज्न नसके तल्लो तहका नेता–कार्यकर्ताले वैकल्पिक बाटो रोज्न सक्ने चेतावनीसमेत दिएका छन्।
रायमाझीले पार्टी एकता अभियानलाई थप निर्णायक बनाउन १४औँ महाधिवेशनका काठमाडौंमा उपलब्ध प्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गर्ने संकेतसमेत दिनुभएको छ।
यसले कांग्रेसभित्रको विवाद अब शीर्ष नेताहरूको बैठक र बन्द कोठाको छलफलमा मात्र सीमित नरहने देखिएको छ।
विशालनगरमा नयाँ समीकरणको संकेत
बैठकमा पूर्वमन्त्री तथा केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजालले विशालनगर भेलालाई कांग्रेसभित्रको बदलिँदो शक्ति समीकरणको संकेतका रूपमा व्याख्या गर्नुभयो।
उहाँका अनुसार विशालनगरको बैठकले पूर्णबहादुर खड्का, शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीचको दूरी घटाउँदै उनीहरूबीचको निकटता बढाउने वातावरण बनाएको छ।
यता नेता बलबहादुर केसीले कांग्रेस एक भएर अघि बढ्ने वा विभाजनको दिशामा जाने भन्ने मुख्य जिम्मेवारी नै सभापति देउवा र गगन थापाको काँधमा रहेको बताउनुभएको छ।
यसले कांग्रेसभित्र परम्परागत गुटगत समीकरणमा फेरबदल हुन थालेको संकेत गरेको छ।
विशालनगरपछि चुनदेवीमा देउवाको सक्रियता
विशालनगर बैठक सकिएलगत्तै सभापति शेरबहादुर देउवाले चुनदेवीस्थित निवासमा नेताहरू गोविन्द भट्टराई, उमेशजङ्ग रायमाझी र किरण पौडेललाई बोलाएर छलफल गर्नुभएको छ।
विशालनगरमा भएको छलफल र त्यसपछि चुनदेवीमा भएको भेटलाई कांग्रेसभित्र विकसित हुँदै गएको नयाँ राजनीतिक संवादका रूपमा हेरिएको छ।
विशालनगर बैठकले एउटा सन्देश भने स्पष्ट रूपमा दिएको छ—कांग्रेस अब केवल गुटको हिसाबले चल्ने अवस्थामा छैन। शीर्ष नेताहरूले पार्टी जोड्ने जिम्मेवारी पूरा गर्न नसके नेतृत्वको विकल्प खोज्ने दबाब पार्टीभित्रैबाट उठ्न थालेको छ।
कांग्रेसको आन्तरिक विवाद अब को सभापति बन्ने भन्ने प्रश्नमा मात्र सीमित छैन। प्रश्न पार्टी एउटै रहने कि गुट–गुटमा चिरिने भन्ने तहमा पुगेको छ। विशालनगरबाट उठेको आवाज यही हो—नेतृत्व मिल्न नसके कार्यकर्ता आफैँ मिल्नेछन्, र नेतृत्वले बाटो नछोडे नयाँ पुस्ताले बाटो बनाउनेछ।


