कांग्रेसमा देउवा समूह तितरबितर हुँदै
नेपाली कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी गरिरहेको शेरबहादुर देउवा समूहभित्रै फुटको संकेत देखिएको छ।
चुनदेवी बैठकमार्फत छुट्टै महाधिवेशनको तयारी गरिरहेको समूहबाट पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा। शेखर कोइराला अलगिँदै संस्थापन पक्षसँग संवादमा जोडिएका छन्।
खड्का र कोइरालासँगको वार्ता सकारात्मक रूपमा अघि बढेको संस्थापन पक्षका एक पदाधिकारीको दाबी छ। पार्टी विभाजन रोक्ने र एकताको महाधिवेशन गर्ने विषयमा सहमतिको प्रयास भइरहेको नेताहरूले बताएका छन्।
खड्का निवासमा भएको छलफलपछि उनीनिकट नेताहरूले अब चुनदेवी बैठकमा सहभागी नहुने र पार्टी विभाजनको पक्षमा नजाने निष्कर्ष निकालेका छन्।
नेता रामहरि खतिवडाले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको भन्दै ‘रुख र चारतारे झन्डा जहाँ हुन्छ, त्यहीँ हुने’ बताएका छन्। उता, शेखर कोइराला निकट नेताहरूले पनि विभाजनको पक्षमा नरहेको र एकताको महाधिवेशनका लागि प्रयास भइरहेको बताएका छन्।
संस्थापन पक्ष भने वडा अधिवेशनको मिति केही पर धकेलेर भए पनि देउवा समूहका नेताहरूलाई सहमतिमा ल्याउने रणनीतिमा देखिन्छ।
तर देउवा समूहका नेता प्रकाशशरण महतले भने सभापति गगन थापामाथि नै एकता नचाहेको आरोप लगाएका छन्। आफूहरूले सदस्यता अद्यावधिक, केन्द्रीय समिति समायोजन र छुट्टै संयन्त्रको माग राखे पनि सभापतिबाट गम्भीर प्रस्ताव नआएको उनको दाबी छ।
यसबीच नैनसिंह महर, रञ्जित कर्णलगायतका नेताहरू पनि पार्टी विभाजन रोक्न तेस्रो धार निर्माण गर्दै संस्थापन पक्षसँग नजिकिएका छन्।
यसरी हेर्दा समानान्तर महाधिवेशनको तयारीमा जुटेको देउवा समूहभित्रै नेताहरू एकपछि अर्को गर्दै अलग हुन थालेपछि कांग्रेसको आगामी महाधिवेशनअघि नै शक्ति समीकरण फेरबदल हुने संकेत देखिएको छ।
अब प्रश्न छ—
देउवा समूह साँच्चिकै समानान्तर महाधिवेशनसम्म पुग्छ, कि नेताहरूको क्रमिक बहिर्गमनसँगै त्यो प्रयास बीचमै रोकिन्छ ?


