१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

प्रधानमन्त्री कार्यालयमा २७, ऊर्जामा २० सल्लाहकार, मसँग त एकजना पनि तलब खाने छैनन् — अर्थमन्त्री


166
Shares

काठमाडौं, १२ साउन — अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय र अन्य मन्त्रालयहरूमा ठूलो संख्यामा सल्लाहकार नियुक्त गर्ने प्रवृत्तिमाथि व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

उनले अनावश्यक सल्लाहकार राख्दा राज्यको ढुकुटीमा थप आर्थिक भार पर्ने भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको सन्दर्भ उल्लेख गर्दै आफूले भने केवल एकजना अवैतनिक राजस्व सल्लाहकार मात्र नियुक्त गरेको बताए।

उनले व्यङ्ग्यात्मक शैलीमा भने, ‘तपाईंहरूले सुनिराख्नुभएको छ, प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार हुनुहुन्छ । तर मैले केवल एकजना अवैतनिक राजस्व सल्लाहकार मात्र राखेको छु। यसबाट मैले राजस्वको विषयलाई कति महत्त्व दिएको छु भन्ने कुरा यहाँहरूले बुझ्नुहोला।’

अर्थमन्त्री वाग्लेले मन्त्रालयहरूमा आवश्यकता भन्दा बढी सल्लाहकार नियुक्त गर्ने परिपाटीले सरकारी खर्च बढाउने र राज्यको स्रोत–साधनमाथि अनावश्यक व्ययभार थप्ने संकेत गर्दै सरकारी संयन्त्र मितव्ययी हुनुपर्नेमा जोड दिए।

उनको यो अभिव्यक्ति प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा रहेका सल्लाहकारहरूको संख्या तथा सरकारी खर्चबारे नयाँ बहस सुरु हुने संकेतका रूपमा पनि हेरिएको छ।

प्रतिक्रिया