नेपाल बैंकका सीईओसँग एनभिए पदाधिकारीको छलफल, ‘एकपक्षीय सम्झौता तत्काल स्थगित गर्न’ माग
काठमाडौं । नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) ले नेपाल बैंक लिमिटेडले मूल्यांकनकर्तासँग गर्न लागेको सम्झौता तत्काल स्थगित गर्न आग्रह गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलकराज पाण्डेसमक्ष पाँचबुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।
एनभिएका सचिव इ.रबिन्द्र अधिकारीका अनुसार शुक्रबार एनभिए केन्द्रका तर्फबाट सीईओ पाण्डेसहित बैंकको व्यवस्थापन टोलीसँग प्रारम्भिक छलफल गरिएको हो। छलफलका क्रममा मूल्यांकनकर्ता सम्बन्धी विषयमा एनभिएको धारणा प्रस्तुत गर्दै कुनै पनि निर्णय वा सम्झौता वार्ताबाट निष्कर्ष ननिस्किएसम्म अघि नबढाउन आग्रह गरिएको बताइएको छ।
सीईओ पाण्डेले एनभिएको ध्यानाकर्षणलाई गम्भीर रूपमा लिँदै आगामी हप्ताभित्र क्रेडिट एडमिनिस्ट्रेसन विभाग (CAD) कानुनी (Legal) लगायत सम्बन्धित निकायसँग संयुक्त रूपमा बृहत् छलफल आयोजना गरिने जानकारी दिएका छन्।
एनभिएले वार्ताबाट सहमति नहुँदासम्म मूल्यांकनकर्तासँग गर्न लागिएको अव्यावहारिक र एकपक्षीय सम्झौता स्थगित गर्नुपर्ने अडान दोहोर्याएको छ।
अधिकारीका अनुसार प्रारम्भिक छलफल सकारात्मक भए पनि अहिलेसम्म कुनै अन्तिम निष्कर्ष भने निस्किएको छैन। आगामी बृहत् छलफलपछि यस विषयमा थप निर्णय हुने अपेक्षा गरिएको छ।
एनभिएका केन्द्रीय उपाध्यक्ष तथा नेपाल बैंक लगायत केही बैंकसँग समन्वय गर्ने समितिका संयोजक इ.विकास वाग्लेको नेतृत्वको पदाधिकारीको टोलीमा उपाध्यक्षहरू इ.दिनेशकुमार पाठक, इ. प्रज्ञान घिमिरे, सचिव इ.रबिन्द्र अधिकारी, सदस्यहरू इ. उपेन्द्र लुइँटेल र इ.सरोज श्रेष्ठको सहभागिता थियो।


