नाभ्या होटलका सञ्चालक किन परे पक्राउ ?
महोत्तरी, ८ साउन । महोत्तरीको बर्दिबासस्थित नाभ्या होटलका सञ्चालक सुधीरकुमार अग्रवाल पक्राउ परेका छन्। सरकारी अनुगमन टोलीलाई अवरोध गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण, स्थानीय प्रशासन र सुरक्षा निकायसहितको संयुक्त अनुगमन टोली शुक्रबार बिहान बर्दिवास–स्थित नाभ्या होटल पुगेको थियो।
अनुगमनका क्रममा होटल सञ्चालक अग्रवालले सरकारी टोलीलाई होटलभित्र प्रवेश गर्न नदिने, ताल्चा लगाइदिने धम्की दिने तथा मन्त्री महतोसहित सरकारी प्रतिनिधिप्रति अमर्यादित शब्द प्रयोग गरेपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अग्रवाललाई हाल इलाका प्रहरी कार्यालय बर्दिवासको हिरासतमा राखिएको छ ।


