३ श्रावण २०८३, आइतबार | July 20, 2026

आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी


664
Shares

काठमाडौं । मनसुन सक्रिय रहेकाले आज (आइतबार) देशभर मौसम बदली रहने र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमानअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली क्षेत्रका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रका अधिकांश तथा तराईका धेरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्। बागमती र गण्डकीका तराई क्षेत्र तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा पनि मौसममा खासै सुधार नआउने पूर्वानुमान छ। देशभर बदली कायम रहने र कोशी तथा सुदूरपश्चिमका पहाडी क्षेत्र, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्र तथा तराईका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै बागमती प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्र तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण नदी–नाला बढ्ने, पहिरो, डुबान तथा सडक अवरुद्ध हुन सक्ने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्रतिक्रिया