एनभिएको विशेष भेला असार ३ गते, मुल्यांकनकर्ता इन्जिनियरहरूलाई सहभागी हुन आह्वान
काठमाडौं, १ असार। सम्पत्ति मूल्यांकनकर्ता इन्जिनियरहरूको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) ले आगामी असार ३ गते विशेष भेला बोलाएको छ। यसअघि असार २ गतेका लागि तय गरिएको भेला एक दिन पछि सारिएको संगठनले जनाएको छ।
विशेष भेला मध्य बानेश्वरस्थित सनराइज क्याफे (पुरानो म्याक डोनाल्ड क्याफे) मा आयोजना हुने भएको छ। संगठनले देशभरका सम्पूर्ण मूल्यांकनकर्ता इन्जिनियरहरूलाई भेलामा सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।
विशेष भेलाका संयोजक तथा एनभिका उपाध्यक्ष इन्जिनियर मनिष कर्ण का अनुसार विशेषगरी नेपाल एसबीआई बैंक र प्राइम कमर्सियल बैंक सँग आबद्ध मूल्यांकनकर्ताहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ।
यसअघि शुक्रबार बसेको एनभिको बैठकले दुवै बैंकविरुद्ध आन्दोलनको घोषणा गर्दै असार ३ गतेदेखि नेपाल एसबीआई बैंक र प्राइम कमर्सियल बैंकमा सम्पत्ति मूल्यांकनसम्बन्धी सम्पूर्ण सेवा ठप्प पार्ने निर्णय गरिसकेको छ।
संगठनका अनुसार बैंकहरूसँग उत्पन्न विवाद समाधानका लागि पटक–पटक पहल गरिए पनि कुनै सुनुवाइ नभएपछि आन्दोलनको बाटो रोज्न बाध्य भएको हो।
एनभिका अध्यक्ष इन्जिनियर संजयकुमार महतो ले आगामी असोज महिनाभित्र देशभरका सबै बैंक तथा वित्तीय संस्थामा एउटै मूल्यांकन शुल्क, एउटै प्रतिवेदन ढाँचा (फर्म्याट), एउटै आचारसंहिता तथा एउटै कार्यमापदण्ड लागू गर्ने लक्ष्य सार्वजनिक गरेका छन्। सोही लक्ष्यलाई केन्द्रमा राखेर संगठनले आफ्नो अभियानलाई थप सशक्त बनाउँदै लगेको जनाएको छ।
आगामी विशेष भेलाले आन्दोलनका थप कार्यक्रम, बैंकहरूसँगको सम्बन्ध तथा मूल्यांकन क्षेत्रका साझा एजेन्डाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। यसले बैंकिङ तथा सम्पत्ति मूल्यांकन क्षेत्रको आगामी दिशा निर्धारणमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ।

