एनभिएले असार २ मा विशेष भेला बोलायो
एसबीआई र प्राइम बैंकका मूल्यांकनकर्तालाई अनिवार्य उपस्थितिको आग्रह, देशभर एउटै शुल्क र मापदण्ड लागू गर्ने अभियान तीव्र
काठमाडौं, २५ जेठ । सम्पत्ति मूल्यांकनकर्ता इन्जिनियरहरूको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए)ले आगामी असार २ गते काठमाडौंमा विशेष भेला बोलाएको छ। संगठनले सम्पूर्ण मूल्यांकनकर्ता इन्जिनियरहरूलाई भेलामा सहभागी हुन आह्वान गरेको छ।
विशेष भेलाका संयोजक तथा एनभिएका उपाध्यक्ष इन्जिनियर मनिष कर्णका अनुसार विशेष गरी नेपाल एसबीआई बैंक र प्राइम कमर्सियल बैंकसँग आबद्ध मूल्यांकनकर्ताहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ।
यसअघि शुक्रबार बसेको एनभिएको बैठकले नेपाल एसबीआई बैंक र प्राइम कमर्सियल बैंकविरुद्ध आन्दोलनको घोषणा गर्दै आगामी असार ३ गतेदेखि दुवै बैंकमा सम्पत्ति मूल्यांकनसम्बन्धी सम्पूर्ण सेवा ठप्प पार्ने निर्णय गरिसकेको छ। संगठनले बैंकहरूसँग भइरहेको विवाद समाधानका लागि पटक–पटक पहल गर्दा पनि सुनुवाइ नभएको निष्कर्ष निकाल्दै आन्दोलनमा उत्रिन लागेको जनाएको छ।
एनभिएका अध्यक्ष इन्जिनियर संजयकुमार महतोले आगामी असोज महिनाभित्र देशभरका सबै बैंक तथा वित्तीय संस्थामा एउटै मूल्यांकन शुल्क, एउटै प्रतिवेदन ढाँचा (फर्म्याट), एउटै आचारसंहिता तथा एउटै कार्यमापदण्ड लागू गराउने लक्ष्य सार्वजनिक गरेका छन्। सोही लक्ष्यअनुसार संगठनले आफ्नो अभियानलाई थप सशक्त बनाउँदै लगेको बताइएको छ।
विशेष भेलाले आन्दोलनका आगामी कार्यक्रम, बैंकहरूसँगको सम्बन्ध तथा मूल्यांकन क्षेत्रका साझा एजेन्डाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

