प्रधानमन्त्रीलाई ‘अमर्यादित’ सन्देश पठाएको आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव राति रिहा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई मोबाइल सन्देशमार्फत अमर्यादित भाषा प्रयोग गरेको आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई बिहीबार राति रिहा गरिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई बिहीबार अपराह्न कपनस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। करिब सात घण्टासम्म सोधपुछ गरेपछि प्रहरीले उनलाई पत्नी आभा श्रेष्ठको जिम्मा जमानीमा छाडेको हो। श्रेष्ठ नेपाल सरकारकी सहसचिव हुन्।
प्रहरी स्रोतका अनुसार पुष्करले आफ्नो पदीय मर्यादाविपरीत उच्च पदस्थ व्यक्तिलाई मोबाइल सन्देशमार्फत अनुचित भाषा प्रयोग गरेको उजुरीपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो। सोधपुछका क्रममा उनले भविष्यमा यस्ता गतिविधि दोहोर्याउने छैनन् भन्ने प्रतिबद्धता जनाएपछि रिहा गरिएको बताइएको छ।
स्रोतका अनुसार सचिव पुष्करले प्रधानमन्त्रीसँग भेटका लागि समय माग्दा अवसर नपाएपछि प्रधानमन्त्रीको निजी मोबाइल नम्बरमा सन्देश पठाएका थिए। उक्त सन्देशमा प्रयोग भएको भाषा कर्मचारी आचरण र मर्यादाअनुकूल नभएको प्रहरीको निष्कर्ष छ। यद्यपि पुष्करले भने आफूले अशिष्ट भाषा प्रयोग नगरेको दाबी गरेका छन्।
अनुसन्धानका क्रममा उनले प्रधानमन्त्री कार्यालय र निजी सचिवालयमार्फत आफ्नो कुरा प्रधानमन्त्रीसमक्ष पुर्याउने प्रयास सफल नभएपछि सन्देश पठाएको बताएका छन्।
मुख्यसचिव बन्ने आकांक्षासँग जोडियो प्रसंग
प्रहरी तथा प्रशासनिक स्रोतहरूका अनुसार पुष्करले हालको मुख्यसचिव सुमनराज अर्यालको अवकाशअघि नै आफू मुख्यसचिव बन्ने सम्भावना खोजिरहेका थिए। उनी आगामी असार २४ गते सचिव पदको पाँच वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाशमा जाँदैछन् भने मुख्यसचिव अर्याल केही दिनपछि मात्रै अवकाश हुनेछन्।
त्यसैले मुख्यसचिव नियुक्तिको सम्भावना नदेखिएपछि संवैधानिक निकाय वा अन्य लाभको पदमा नियुक्तिको अपेक्षासहित प्रधानमन्त्रीसँग प्रत्यक्ष सम्पर्क गर्न खोजेको आशय सन्देशमा झल्किएको स्रोतको दाबी छ।
स्रोतका अनुसार सन्देशमा उनले आफ्नो गृहजिल्ला महोत्तरीको प्रसंग समेत उल्लेख गर्दै प्रधानमन्त्रीसँग निकटता स्थापित गर्ने चाहना व्यक्त गरेका थिए।
घटनाबारे प्रधानमन्त्रीको सचिवालय र सम्बन्धित निकायले औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरेका छैनन्।

