२९ चैत्र २०८२, आइतबार | April 12, 2026

६ महिनाभित्र सबै बैंकसँग एउटै सम्झौता गर्ने एनभिए अध्यक्षको प्रतिबद्धता, आन्दोलन र वार्ता सँगसँगै अघि बढ्ने संकेत


7.6k
Shares

काठमाडौं, २७ चैत्र — सम्पत्ति मूल्यांकनकर्ता इन्जिनियरहरूको छाता संस्था नेपाल भ्यालुयर्स एसोसिएसन (एनभिए) ले नयाँ वर्ष २०८३ को अवसर पारेर राजधानीमा विशेष कार्यक्रम आयोजना गर्दै आगामी रणनीतिबारे स्पष्ट संकेत दिएको छ।

मध्य बानेश्वरस्थित सनराइज क्याफेमा सम्पन्न कार्यक्रममा १५० भन्दा बढी मूल्यांकनकर्ता इन्जिनियरहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नयाँ वर्षको शुभकामना आदान–प्रदान, भित्तेपात्रो विमोचन तथा समसामयिक विषयमा महत्वपूर्ण छलफल गरिएको सचिव इ. रबिन्द्र अधिकारीले जानकारी दिए।

कार्यक्रमका सभापति एवं एनभिएका केन्द्रीय अध्यक्ष इ. संजय महतोले आफ्नो कार्यकालको बाँकी ६ महिनाभित्र सबै बैंकहरूसँग एउटै प्रकारको सम्झौता लागू गराउने प्रतिबद्धता व्यक्त गरे । उनले हालसम्म करिब १२ वाणिज्य बैंकहरूले एनभिएसँग भएका सम्झौताहरू पूर्ण रूपमा कार्यान्वयन नगरेको भन्दै अब एकरूपता ल्याउन निर्णायक पहल गरिने बताए।

उनले भने, “एउटै सम्झौता, एउटै शुल्क र एउटै मूल्यांकन प्रणाली लागू गराउने लक्ष्यका साथ हामी अघि बढेका छौँ।” यसका लागि सम्पूर्ण मूल्यांकनकर्ता इन्जिनियरहरूको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

 

कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष इ.दिनेश कुमार पाठकले अबको आन्दोलनको शैली परिवर्तन हुने बताएका छन्। विगतमा आन्दोलन रोकेर वार्ता गरिने अभ्यास रहेको भए पनि अब आन्दोलन र वार्तालाई सँगसँगै अघि बढाइने उनले स्पष्ट पारे। बैंकहरू सकारात्मक देखिए पहिलो चरणमै समस्या समाधान गर्ने पक्षमा संस्था रहेको उनले उल्लेख गरे। साथै, प्राइम कमर्सियल बैंक र नेपाल एसबिआइ बैंकसँग छिट्टै सहमति हुने संकेत पनि उनले दिए।

 

इ.सचिव अधिकारीले विगतमा एनआइएमबी बैंकविरुद्धको आन्दोलन सफल भएको स्मरण गर्दै अब प्राइम र नेपाल एसबिआइ बैंकविरुद्धको आन्दोलन पनि सफल हुने विश्वास व्यक्त गरे। ती बैंकहरूमा सफलता प्राप्त भएलगत्तै अन्य बैंकहरूमा पनि आवश्यक परे आन्दोलनलाई विस्तार गरिने उनले चेतावनी दिए।

 

कार्यक्रममा महासचिव इ.अशोक सिलवालले समसामयिक विषयमा धारणा राखेका थिए भने नेपाल इन्जिनियरिङ काउन्सिलका सदस्य तथा एनभिएका सल्लाहकार आ.लैला श्रेष्ठले शुभकामना व्यक्त गरेकी थिइन्।

 

निवर्तमान अध्यक्ष इ.ऋषि कोइरालाले एनभिएले लिएको कदमप्रति पूर्ण समर्थन जनाउँदै विगतमा निर्धारण गरिएको शुल्क सबै बैंकहरूमा लागू हुनेमा आफू विश्वस्त रहेको बताए।

कार्यक्रममा केन्द्रीय उपाध्यक्षहरू इ.विकास वाग्ले, इ.दिनेश कुमार पाठक, इ.मनिष कर्ण, इ.प्रज्ञान घिमिरे लगायत पदाधिकारीहरूले सहभागीका जिज्ञासाको उत्तर दिएका थिए। कार्यक्रम संयोजन संस्थाका सदस्य द्वय इ.उपेन्द्र लुइटेल र इ.सरोज श्रेष्ठले गरेका थिए ।

एनभिएले अब आन्दोलनलाई थप प्रभावकारी बनाउँदै मूल्यांकनकर्ता इन्जिनियरहरूको हकहित सुनिश्चित गर्न दृढ रूपमा अघि बढ्ने संकेत दिएको छ।

प्रतिक्रिया