२३ चैत्र २०८२, सोमबार | April 6, 2026

एनभिएको शुभकामना आदान–प्रदानसँगै आन्दोलनको बहस,इन्जिनियरहरूलाई सशक्त उपस्थितिको आह्वान


1.7k
Shares

काठमाडौं । सम्पत्ति मूल्यांकनकर्ता इन्जिनियरहरूको साझा संगठन नेपाल भ्यालुयर्स एसोसिएसन (एनभिए) ले नयाँ वर्ष २०८३ को अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

एनभिएले  आगामी  चैत्र २७ गते शुक्रबार दिउँसो २ बजे मध्य बानेश्वरस्थित सनराइज क्याफे (पुरानो म्याक डोनाल्ड क्याफे) मा मूल्यांकनकर्ता इन्जिनियरहरूबीच नयाँ वर्षको शुभकामना आदान–प्रदान, भित्तेपात्रो विमोचन तथा समसामयिक विषयमा महत्वपूर्ण छलफल कार्यक्रम राखिएको सचिव इ.रबिन्द्र अधिकारीले जानकारी दिए।

कार्यक्रममा नेपाल एसबिआइ कमर्सियल बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेड विरुद्ध सञ्चालन गरिने आन्दोलनको मोडालिटीबारे समेत गम्भीर छलफल हुने जनाइएको छ।

एसोसिएसनले सम्पूर्ण मूल्यांकनकर्ता इन्जिनियरहरूलाई कार्यक्रममा सक्रिय र सशक्त उपस्थिति जनाउन आग्रह गरेको छ।

यस कार्यक्रमलाई मूल्यांकन क्षेत्रका पेशाकर्मीहरूबीच एकता, समन्वय र पेशागत अधिकारका मुद्दामा साझा धारणा निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

एनभिएले आफ्ना मागप्रति बेवास्ता गरिएको भन्दै नेपाल एसबिआई बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडविरुद्ध कडा आन्दोलनको चेतावनी यसअघि नै दिएको छ।

केही दिनअघि नै दुवै बैंकलाई पत्र बुझाउँदै आफ्ना मागहरू सम्बोधन गर्न आग्रह गरेको थियो। तर, मागप्रति गम्भीरता नदेखाइएको र निरन्तर बेवास्ता गरिएको आरोप लगाउँदै अब निर्णायक कदम चाल्ने संस्थाले स्पष्ट संकेत दिएको छ।

यदि बैंकले २०८२ चैत्र मसान्तभित्र एनभिएले उठाएका मागहरू सम्बोधन नगरेमा, २०८३ बैशाख २ गतेदेखि देशभरका सम्पत्ति मूल्यांकनसँग सम्बन्धित सम्पूर्ण काम ठप्प पारिने र त्यसपछि थप कडा आन्दोलनका कार्यक्रमहरू समेत सार्वजनिक गरिने जनाइएको छ।

 

 

 

प्रतिक्रिया