एनभिएद्वारा एसबिआई र प्राइम कमर्सिएल बैंकलाई आन्दोलनको चेतावनी
एनभिएद्वारा एसबिआई र प्राइम कमर्सिएल बैंकलाई अल्टिमेटम: माग नमानिए देशभर मूल्यांकन सेवा ठप्प गर्ने चेतावनी
काठमाडौं, १६ चैत्र — सम्पत्ति मूल्यांकन क्षेत्रमा ठूलो असर पार्ने चेतावनी दिँदै नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) ले नेपाल एसबिआई बैंक लिमिटेड र प्राइम कर्मसिएल बैंक लिमिटेडविरुद्ध कडा आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ।
एनभिएले आफ्ना मागप्रति दुवै बैंक गम्भीर नभएको र निरन्तर बेवास्ता गरिएको आरोप लगाउँदै अब निर्णायक कदम चाल्ने स्पष्ट संकेत दिएको हो। संस्थाका महासचिव इन्जिनियर अशोक सिलवालद्वारा जारी पत्रमा बैंकलाई अन्तिम समयसीमा दिइएको छ ।
पत्रमा स्पष्ट चेतावनी दिँदै भनिएको छ—यदि बैंकले २०८२ चैत्र मसान्तभित्र एनभिएले उठाएका मागहरू सम्बोधन नगरेमा, २०८३ बैशाख २ गतेदेखि देशभरका सम्पत्ति मूल्यांकनसँग सम्बन्धित सम्पूर्ण काम ठप्प पारिनेछ । साथै, त्यसपछि थप कडा आन्दोलनका कार्यक्रमहरू समेत सार्वजनिक गरिने जनाइएको छ।
सबै बैंकहरुमा फि मा, सर्भिस ड्राफ्टमा, मुल्यांकन रिपोर्टमा एकरुपता, सूचिकृत इन्जिनियरहरुलाई समानुपातिक रुपमा कार्य वितरण, अनावश्यक इन्जिनियरहरुलाई दुख दिने कार्यको अन्त्यलगायतका विभिन्न माग राखि पटक-पटक पत्राचार गर्दा पनि यी बैंकहरुले बेवास्ता गरीरहेको एनभिएका सचिव इ.रबिन्द्र अधिकारीले बताए ।
एनभिएको यो कदमले बैंकिङ तथा रियल स्टेट क्षेत्रमा प्रत्यक्ष असर पर्ने देखिएको छ। मूल्यांकन सेवा बन्द हुँदा ऋण प्रवाह, घरजग्गा कारोबार र लगानी प्रक्रिया समेत प्रभावित हुने सम्भावना बढेको छ।
विशेषज्ञहरूका अनुसार, यस्तो आन्दोलनले वित्तीय प्रणालीमै दबाब सिर्जना गर्न सक्छ। त्यसैले सरोकारवालाहरूले समयमै वार्ता र समाधानको बाटो खोज्नुपर्ने आवश्यकता औंल्याएका छन्।
अब सबैको नजर नेपाल एसबिआई बैंक र प्राइम कर्मसिएल बैंक लिमिटेड तर्फ केन्द्रित भएको छ—के बैंकले माग सम्बोधन गरेर संकट टार्छ, कि देशव्यापी मूल्यांकन सेवा ठप्प हुने अवस्था आउँछ ?




