भोजपुरमा नेपाली सेनाको बस दुर्घटना :९ जनाको अवस्था गम्भीर
भोजपुरमा नेपाली सेनाको टोली सवार बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।
निर्वाचन सुरक्षार्थ बेस क्याम्प स्थापना गर्न टेम्केमैयुङतर्फ जाँदै गरेको नेपाली सेनाको श्रीनाथ गणको टोली सवार ना। ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका–४ स्थित सेती बगरमा दुर्घटनामा परेको हो।
दुर्घटनामा एक जमदार र एक सैनिक कर्मचारी गरी दुई जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजु लामाले जानकारी दिए। उनका अनुसार बसमा जम्मा २६ जना सवार थिए।
प्रहरीका अनुसार घाइतेमध्ये करिब ९ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं लैजान दुई वटा हेलिकप्टर मगाइएको छ भने अन्य घाइतेहरूको उपचार भोजपुर जिल्ला अस्पतालमा भइरहेको छ।
बस सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


