विवादरहित छवि, सुधारमुखी दृष्टि: काठमाडौं–५ मा फेरि विश्वास माग्दै
नेपालको समकालीन राजनीतिमा अध्ययनशील, शालीन र नीति–आधारित नेतृत्वको रूपमा परिचित नाम हो प्रदीप पौडेल। तनहुँको साविक शुक्लागण्डकी क्षेत्र (हाल तनहुँ) मा १ चैत २०३२ मा जन्मिएका पौडेल हाल काठमाडौंको बानियाँटारमा बसोबास गर्दै आएका छन्।
शैक्षिक रूपमा अब्बल मानिने पौडेलले सिद्धार्थ वनस्थली इन्स्टिच्यूटबाट एसएलसी, अमृत साइन्स क्याम्पसबाट स्नातक तथा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरेका हुन् । अन्य धेरै नेपाली नेताझैँ उनले पनि विद्यार्थी आन्दोलनबाटै आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए।
विद्यार्थी राजनीतिबाट राष्ट्रिय नेतृत्वसम्म
अमृत क्याम्पसमा नेपाल विद्यार्थी संघको नेतृत्व सम्हाल्दै उनले सक्रिय राजनीति प्रारम्भ गरे। सन् १९९६ मा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष निर्वाचित भएका पौडेल सन् २०००–२००२ सम्म नेपाल विद्यार्थी संघको केन्द्रीय समितिमा रहे।
त्यसपछि तीन कार्यकाल उपाध्यक्ष हुँदै सन् २००७ देखि २०१२ सम्म अध्यक्षको जिम्मेवारी सम्हाले। २०५९–२०६३ को संयुक्त विद्यार्थी आन्दोलनमा संयोजक बनेका उनले त्यतिबेला राजद्रोह मुद्दासमेत सामना गरेका थिए।
कांग्रेस राजनीतिमा उदीयमान भूमिका
सन् २०१४ सेप्टेम्बर १७ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उनलाई नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए।
२०६७ सालदेखि लगातार केन्द्रीय सदस्य रहेका पौडेल पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीका प्रत्याशी बने पनि पराजित भएका थिए । कांग्रेसको विशेष महाधिवेशनबाट उनी सर्वसम्मत महामन्त्री बनेका छन् ।
२०७४ को निर्वाचनमा तनहुँबाट प्रदेशसभा सदस्यमा झिनो मतान्तरले पराजित भएका उनले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट उल्लेख्य मतसहित विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी ईश्वर पोखरेल थिए, जो नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार थिए।
‘बीसीडी मोडेल’ मार्फत विकासको बहस
निर्वाचन अभियानका क्रममा पौडेलले ‘बीसीडी मोडेल’—
-
Stop Brain Drain
-
Fight Corruption
-
Sustainable Development
लाई मुख्य प्रतिबद्धताका रूपमा अघि सारे।
लोकतन्त्र, शान्ति, सुशासन र मानवअधिकारका क्षेत्रमा उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध रहँदै आएका छन्।
“एक विद्यालय–एक पुस्तकालय”, सार्वजनिक विद्यालय सुधार, इन्टरनेट तथा ई–लाइब्रेरी अभियानजस्ता कार्यक्रममार्फत उनले शिक्षा क्षेत्रमा पनि सक्रिय हस्तक्षेप गरेका थिए। आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने अभियानमा समेत उनको भूमिका उल्लेख्य रह्यो।
आन्दोलनदेखि प्रविधिमैत्री कांग्रेससम्म
मेची–महाकाली अभियान, भूकम्पपछिको उद्धार तथा पुनस्र्थापना, युवा उद्यमशीलता कार्यक्रम तथा पार्टीलाई प्रविधिमैत्री बनाउने डिजिटल पहलमा उनले अग्रसरता देखाए।
२०६३ सालको जनआन्दोलनमा उनी गगन थापा र स्वर्गीय गिरिजाप्रसाद कोइरालासँग अग्रपंक्तिमा देखिएका युवा नेतामध्ये एक थिए।
स्वास्थ्य मन्त्रीका रूपमा सुधारका प्रयास
स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हाल्दा उनले संरचनागत सुधारलाई प्राथमिकता दिए।
करिब १२ हजार स्वास्थ्यकर्मी र २१ हजार प्राविधिक जनशक्ति थप्ने प्रक्रिया अघि बढाए
४ अर्बभन्दा बढीको उपकरण खरिदमा बचत
९ सय स्वास्थ्य उपकरण मर्मत, २४ करोड खर्च जोगाए
११३ आधारभूत अस्पताल र २७५ स्वास्थ्य केन्द्र निर्माण प्रक्रिया अघि बढाए
चिकित्सा शिक्षाको विस्तारतर्फ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार गरिएको छ । त्यस्तै भरतपुर क्यान्सर अस्पताल र गेटा मेडिकल कलेजमा एमबीबीएस अध्ययन सञ्चालनको तयारी पूरा गरिएको उनले बताएका छन्।
दोस्रो कार्यकालको प्रतिस्पर्धामा
लामो राजनीतिक यात्राका क्रममा अपेक्षाकृत विवादरहित छवि बनाएका पौडेल अहिले पुनः काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यका लागि दोस्रोपटक चुनावी मैदानमा छन्।
नीति, सुशासन, स्वास्थ्य पूर्वाधार विस्तार र युवालाई देशमै अवसर सिर्जना गर्ने एजेन्डासहित उनी मतदातामाझ पुगिरहेका छन्।
अध्ययन, आन्दोलन, संगठन र शासन—यी चार आयाममा आफूलाई स्थापित गर्ने प्रयास गरेका प्रदीप पौडेलको आगामी राजनीतिक यात्रा मतदाताको निर्णयले तय गर्नेछ।


