२५ माघ २०८२, आइतबार | February 8, 2026

स्वर्णिम वाग्ले र तनहुँको अपेक्षा !


February 8, 2026
1.5k
Shares

तनहुँबासी आज एउटा गम्भीर प्रश्नको सामना गरिरहेका छन्—हामीलाई भाषण गर्ने नेता चाहिएको हो कि काम गर्ने नेतृत्व ? देश बनाउने सपना देखाउनु गलत होइन, तर देश बन्नु अघि गाउँ–टोल त बाँच्न लायक हुनुपर्दैन ? जहाँ बत्ती छैन, पिउने पानी छैन, खेतीका लागि कुलो छैन, त्यहाँ “देश बनाउँछु” भन्ने नाराले पेट भरिन्छ कि तिर्खा मेटिन्छ ?

राजनीतिमा ठूला कुरा गर्न सजिलो छ । तर जनताले दैनिक भोग्ने समस्या—बिजुली, खानेपानी, सिँचाइ, सडक, शिक्षा र स्वास्थ्य—यी समाधान गर्न नसक्नेले राष्ट्र निर्माणको ठेक्का लिँदा प्रश्न उठ्नु स्वाभाविक हो। घरमै खाने अन्न छैन, खेतमा पानी छैन, तर मञ्चमा उभिएर “देशै बनाउने” भाषण सुन्दा तनहुँबासीले ताली बजाउनुपर्छ कि आत्मसमिक्षा गर्नुपर्छ ?

स्थानीय समस्या समाधान गर्न नसक्नेले राष्ट्रिय जिम्मेवारी ?

गाउँ–टोलको कुलो मर्मत गर्न नसक्ने, खानेपानी योजनामा पहल नगर्ने, आधारभूत पूर्वाधारमा देखिने प्रगति शून्य हुने तर चुनाव नजिकिँदा देशव्यापी आदर्शका कुरा गर्नु—यो राजनीति हो कि जनतालाई भ्रममा राख्ने कला ?
नेतृत्व भनेको सपना बेच्ने मात्र होइन, जिम्मेवारी बोक्ने क्षमता हो। आफ्नो निर्वाचन क्षेत्रको समस्या बुझ्न, समाधानका लागि लड्न र परिणाम देखाउन नसक्नेले “म देशकै लागि हिँडेको हुँ, तनहुँ मात्र होइन” भन्नु जनताको अपमान होइन ?

स्वर्णिम वाग्ले र तनहुँको अपेक्षा

तनहुँले जिताएर पठाएका प्रतिनिधिबाट जनताले सिन्को भाँच्ने काम देख्न चाहन्थे। तर जनताको धारणा के बन्दैछ भने—उपलब्धि भन्दा भाषण धेरै भयो, उपस्थितिभन्दा अनुपस्थिती बढी देखियो। चुनावको मुखमा “के गरिस् ?” भन्ने प्रश्न उठ्दा “म त देश बनाउँदै हिँडेको” भन्ने जवाफले लाज लाग्नुपर्ने कि गर्व गर्नुपर्ने ?
राजनीति पद होइन, उत्तरदायित्व हो। तनहुँका मुद्दा छाडेर राष्ट्रिय मञ्चमा चम्किन खोज्दा आफु निर्वाचित भएको क्षेत्रले सोध्ने प्रश्न गम्भीर हुन्छ ।

तनहुँबासी सोझा होइनन्, सहनशील छन्। तर सहनशीलतालाई कमजोरी ठान्नु सबैभन्दा ठूलो भूल हो। जे भने पनि पत्याउने जमाना सकिँदैछ। अब प्रश्न सोधिन्छ—काम के गर्‍यौ ? परिणाम कहाँ छ ? हाम्रो गाउँ–टोलमा के फेरियो ?

तनहुँलाई अब यस्तो नेतृत्व चाहिएको छ—

भाषण होइन, समाधान दिने

नाराभन्दा काम देखाउने

केन्द्रको सपना होइन, स्थानीय आवश्यकता बुझ्ने

चुनावमा मात्र होइन, हरेक दिन जनतासँग रहने

देश विकासको यात्रा गाउँबाट सुरु हुन्छ। गाउँ उपेक्षित राखेर देश बनाउने सपना केवल राजनीतिक नारा मात्र हुन्छ। तनहुँबासी अब अभागी बन्न चाहँदैनन् । उनीहरू जिम्मेवार, जवाफदेही र काम गर्ने नेतृत्व खोजिरहेका छन्।
अब फैसला जनताकै हातमा छ—फेरि भाषण रोज्ने कि परिणाम ?

(सचिना बानियाको फेसबुक वालबाट)

प्रतिक्रिया