माघ २३ गते मुल्यांकनसम्बन्धि काम स्थगित गरेर ‘एनभिए डे–२०८२’ मनाइदै
काठमाडौं,१२ सोमबार । नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए)ले १५औं स्थापना दिवस (एनभिए डे –२०८२) भव्यताका साथ मनाउने भएको छ ।
एनभिएले आगामी माघ २३ गते शुक्रबार आफ्नो स्थापना दिवस ठमेलस्थित होटल यात्रीमा भव्य रुपमा मनाउन लागेको हो । उक्त दिन सबै मुल्यांकनकर्ताहरुलाई बिदाको रुपमा मनाउन केन्द्रीय अध्यक्ष इ.संजय महतोले आग्रह गरेका छन् ।
एनभिएले राजधानीमा मनाउन लागेको १५औं स्थापना दिवसको अवसरमा देशभरका मुल्यांकनकर्ता इन्जिनियरहरुलाई मुल्यांकर्न सम्बन्धि नियमित कार्य स्थगित गरी आफुलाई पायक पर्ने केन्द्र,प्रदेश वा च्याप्टर कार्यालयमा उपस्थित भएर हर्षोल्लासका साथ मनाउन अध्यक्ष महतोले निर्देशन दिएका छन् । उनले चाँडै नै मुल्यांकनकर्ता इन्जिनियरहरुको लागि खुशीको खबर ल्याउने पनि बताए ।
वि।स।२०६८ सालमा स्थापना भएको एनभिएले माघ २३ गते विभिन्न कार्यक्रमसहित भव्यताका साथ स्थापना दिवस मनाउन लागेको हो । एनभिएको वार्षिकउत्सवको अवसरमा विशेष सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
वार्षिकउत्सव कार्यक्रममा एनभिएले नेपाल इन्जिनियर्स एशोसिएशन,स्क्याप, सोना लगायतका इन्जिनियरिङ संस्थाहरु, नेपाल बैंकर संघ, नेपाल डेभलमेन्ट बैंकर एशोसियशन, नेपाल वित्त संघ लगायतका संस्थाहरुलाई आमन्त्रण गर्ने जनाएको छ ।
एनभिए नेपालमा मूल्याङ्कन पेशाको सुदृढीकरण र प्रवद्र्धन गर्ने उद्देश्यले मूल्याङ्कनकर्ताहरूको समूहद्वारा स्थापित छाता संस्था हो । यसले देशमा मूल्याङ्कनकर्ताको पेशासँग सम्बन्धित सबै मुद्दाहरूलाई सम्बोधन गर्न सहजकर्ताको भूमिका पनि खेल्दै आएको छ । एनभिएमा १२ सय भन्दा बढी संस्थागत सदस्यहरु छन् भने ४ हजार भन्दा बढी इन्जिनियरहरु यसमा आबद्ध छन् ।
यसमा घर जग्गा लगायतका सिभिल इन्जिनियरिङ संरचना, सवारी साधन लगायत सबै मेसिनरी उपकरणहरु, कृषि आदी मूल्याङ्कन गर्ने इन्जिनियरहरू आबद्ध छन् । संस्थाले आफ्नो सेवाहरूमा नैतिकता, गुणस्तर र व्यावसायिकताको उच्चतम मापदण्डहरू कायम राख्दै आएको छ ।
संस्थाका सचिव इ.रबिन्द्र अधिकारीले डेभलपमेन्ट बैंकर एशोसिएसन नेपाल (डिबान) र एनभिएबीच चाडै नैै सम्झौता हुने जानकारी दिए । नेपाल बैंकर एशोसिएसनसँग पनि वार्ता चरणबद्ध रुपमा अगाडी बढिसकेको उनले स्पष्ट पारे । अधिकारीका अनुसार धेरै बैंकहरु र केही फाइनान्सहरुमा पनि समस्या समाधान भइसकेको छ ।


