अन्धभक्त नबन्न रास्वपाका कार्यकर्तालाई रक्षा बमको आग्रह
आदरणीय रास्वपाका साथीहरू,
तपाईंहरू धन्यवादका पात्र हुनुहुन्छ। देश अस्तव्यस्त भएको बेला तपाईंहरूले आशा जोगाउनु भएकै हो। तर कृपया अन्धभक्त नबनिदिनुहोस्। नागरिकहरूले प्रश्न गर्दा र आलोचना गर्दा सुन्नुपर्छ। जवाफ दिनुपर्छ। होइन भने नयाँ रास्वपा पनि पुराना दलहरूजस्तै बन्न लामो समय लाग्ने छैन।
रास्वपाले बालेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदा हामी खुसी नै भएका छौं। झापा–५ बाट उहाँको उम्मेदवारीले हामीमा आशा जगाएको नै छ। पुराना दलहरूको दलतन्त्रबाट आजित भएर नयाँ आशा बोकेर आएका आवाजलाई समर्थन हामी पनि गर्छौं। तर कुनैपनि दलरनेतृत्व चाहे त्यो एमाले, काँग्रेस, नेकपा होस वा रास्वपासहित अन्य कुनै दल, प्रश्नभन्दा बाहिर कोहीपनि छैनन्। हामी पनि प्रश्नको घेरामै छौं र जवाफदेही नै छौं।
जसरी हामीले हिजो सडकमा ‘व्यवस्था होइन, प्रवृत्ति बदल’ भनेर नारा लगाएका थियौं, आज त्यही प्रवृत्तिको नयाँ संस्करणलाई जयजयकार गर्दैछौं भने हामी आफ्नै इतिहाससँग ठट्टा गर्दैछौं। हाम्रो लागि बालेन प्रधानमन्त्री बनून्, गगन बनून्, प्रचण्ड बनून् वा अरू जो कोही बनून्, यदि नागरिकले प्रश्न गरेनन् भने त्यो नेतृत्व तानाशाही बन्न समय लाग्ने छैन।
हामीले नयाँ आशाहरूलाई जोगाउनकै लागि भए पनि प्रश्न जोगाउनुपर्छ। नागरिकले प्रश्न गर्नुपर्छ र नेतृत्वले उत्तर दिनुपर्छ । नभए फेरी तिनै तानाशाहीहरू नयाँ नामको अवतारमा, नयाँ झण्डा र नयाँ भाषण बोकेर फर्किनेछन्।
त्यसैले अन्धभक्त नबनौं, सचेत नागरिक बनौं ।


