५ मंसिर २०८२, शुक्रबार | November 21, 2025

एआईको प्रयोग बढ्दै जाँदा विशेष कार्यक्रम


November 21, 2025
0
Shares

काठमाडौं, ५ मंसिर । एआई एशोशिएसन नेपालसँग भारतीय राजदूतावासले कार्यक्रम गरेको छ ।  “एआई फर इन्क्लुसिभ ग्रोथः बिल्डिङ्ग नेपाल्स एआई रेडी फ्युचर” नामक कार्यक्रमलाई फागुन ७-८ मा नयाँ दिल्लीमा आयोजना हुने एआई इम्प्याक्ट समिटको आधिकारिक प्रि-समिटको रूपमा मान्यता दिइएको छ ।

५ मंसिरमा भएको छलफल कार्यक्रमका प्रमुख क्षेत्रहरू मध्ये आर्टिफिसियल इन्टेलिजेन्समा हालै भएका विकास र एआई इम्प्याक्ट समिट पनि रहेको थियो । कार्यक्रममा स्टार्टअपहरू, सरकारी निकायहरू, चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, रोबोटिक्स एसोसिएसन अफ नेपाल, एनएएस आईटी, फिनटेक एलायन्स, एआई एसोसिएसन अफ नेपाल, शैक्षिक संस्थाहरू, थिंक ट्याङ्कहरू र सञ्चार माध्यमका ४०० भन्दा बढी सहभागीहरु उपस्थित थिए ।

काठमाडौंमा आयोजित प्रि-समिट कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल प्रमुख अतिथिको रुपमा उपस्थित भए । उनले नेपाल सरकारको एआई सम्बन्धी पहलहरु र यस क्षेत्रमा सहकार्यको सम्भावनाबारे चर्चा गरे।

पूर्ण सत्रमा बोल्दै भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको AI for ALL को दृष्टिकोणमा अन्तर्निहित सिद्धान्तहरूको व्याख्या गरे । फागुन ७-८ मा नयाँ दिल्लीमा हुन लागेको एआई इम्प्याक्ट समिटको उद्देश्य एआई सम्बन्धी विश्वव्यापी व्याख्यानलाई परिवर्तन गरी एआईले हाम्रो जीवनका सबै पक्षहरूमा पार्ने ‘प्रभाव’ र यसको भविष्यमा हुने अभिव्यक्तिहरूमा केन्द्रित हुने कुरामा जोड दिए ।

नेपाली युवाहरूलाई AI for ALL, AI for HER र YUVAi जस्ता विभिन्न एआई चुनौतीहरूमा ठूलो संख्यामा सहभागी हुन पनि प्रोत्साहन गरे ।

डिजिटल इन्डिया भाषिणी डिभिजनका प्रमुख कार्यकारी अधिकारी अमिताभ नागले AI for ALL को भावना अनुरूप भारतमा सार्वजनिक सेवाहरूको रूपान्तरणमा भाषिणीको भूमिकाको विषयमा मुख्य प्रस्तुति दिए । विकासका लागि भाषिणीको प्रयोगका धेरै उदाहरणहरू प्रदर्शन गर्नुभयो । अब्जर्भर रिसर्च फाउन्डेसन, डिजिटल सोसाइटीज इनिसिएटिभका निर्देशक श्री अनिर्बान शर्माले सहभागीहरूलाई एआई इम्प्याक्ट समिटको बारेमा परिचय गराए ।

एआई एसोसिएसन अफ नेपालका उपाध्यक्ष डा. सुरेश पोखरेलद्वारा सञ्चालित “लेभरेजिङ एआई फर नेपाल्स ग्रोथ” विषयक एक विज्ञमण्डलको छलफल भएको थियो । विज्ञमण्डलमा नेपाल सरकारका सहसचिव आदेश खड्काले नेपालको लागि एआई नीति विकास गर्ने बारेमा  चर्चा गरे ।

रोबोटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष विकास गुरुङले नेपालका युवाहरूमाझ रोबोटिक्स र एआई अपनाउने प्रवृत्ति बढाउनका लागि गरिएका पहलहरूको बारेमा विस्तृत रूपमा बताए । वृद्धि सञ्जालका संस्थापक शिक्षित भट्टले नेपालको डिजिटल पब्लिक इन्फास्ट्रक्चर स्ट्याकको लागि एआई किन एक प्रमुख भाग हुन सक्छ भनेर व्याख्या गरे ।

अमिताभ नाग र अनिर्बान शर्माले पनि भारतको एआई क्षेत्रका अनुभवहरू साझा गर्दै छलफलमा सहभागिता जनाए।

कार्यक्रमको समापन एआई एसोसिएसन अफ नेपालका राम शर्मा भट्टराई र दर्शन पराजुलीद्वारा एआई उपकरण र वास्तुकला सम्बन्धी कार्यशालासँगै भयो । यस कार्यशालामा भारतमा भाषिणी एआईको प्रयोगका औद्योगिक केस स्टडीहरू पनि प्रस्तुत गरिएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव  राधिका अर्याल पनि विशेष अतिथिको रूपमा कार्यक्रममा उपस्थित भएकी थिइन् । फेब्रुअरी २०२६ मा आयोजना हुने एआई इम्प्याक्ट समिटमा अन्य कुराका साथसाथै तीनवटा विश्वव्यापी चुनौतीहरू र एक अनुसन्धान गोष्ठी पनि समावेश हुनेछ जसको लागि https://impact.indiaai.gov.in मा गएर अनलाइन आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया