यी हुन् भारतले बनाइदिने एक अर्बभन्दा बढी लागतका ११ परियोजना
काठमाडौं, २५ कात्तिक । भारत र नेपालबीच एक अर्ब १६ करोड रुपैयाँ बराबरको विकास परियोजनामा हस्ताक्षर भएको छ । सोमबार दुई देशबीच ११ वटा विकास परियोजना निर्माणका हेतु हस्ताक्षर भएको हो ।
शिक्षा, स्वास्थ्य र फोहोर व्यवस्थापन जस्ता क्षेत्रमा ११ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाउन हेतु काठमाडौँस्थित भारतीय राजदूतावाससँग सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरुबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
११ वटा परियोजनाहरुमा कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकास्थित श्री जनज्योति माध्यमिक विद्यालयको निर्माण, कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित श्री महेश्वर माध्यमिक विद्यालय भवनको निर्माण, रौतहटको राजदेवी नगरपालिका स्थित प्राथमिक विद्यालयको शैक्षिक भवनको निर्माण, झापाको शिवसताक्षी नगरपालिकाको शिवगञ्जमा श्री जन आदर्श माध्यमिक विद्यालयको निर्माण, दार्चुलाको शैल्यशिखर नगरपालिका स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालय भवनको निर्माण , झापाको गौरादह नगरपालिकामा रहेको श्री जनता माध्यमिक विद्यालयको निर्माण, कपिलवस्तुको विजयनगर गाउँपालिकामा पत्थरदेईया स्वास्थ्य चौकीको निर्माण, उदयपुरको त्रियुगा नगरपालिका–५ मा नगर अस्पताल निर्माण, सुनसरीको दुहवी नगरपालिकामा फोहोर व्यवस्थापन केन्द्रको निर्माण, इलामको इलाम नगरपालिकामा इलाम अस्पताल आपतकालीन भवनको निर्माण र बागलुङको बडिगाड गाउँपालिकामा रहेको भिमगिठे स्वास्थ्य चौकीको निर्माण रहेका छन्।


