२३ कार्तिक २०८२, आइतबार | November 9, 2025

विश्वप्रकाश शर्मालाई कल्याण गुरुङ्गको चिठी


November 9, 2025
4.6k
Shares

प्रिय विश्व प्रकाश जी,
जय नेपाल

तपांईको फेसबुकमा तपांईले हिजो राख्नु भएको सानो क्लीप हेरे र स्टाटस पनि पढे । आशा, सम्मान र स्नेहको साथ बिना पुर्वाग्रह केही शब्दहरु तपांईसंग अनुमति नलिईकन लेख्दैछु ।

तपांईलाई र तपांईले उठान गर्नु भएको विषयलाई अहिलेको समयमा लेख्न योग्य ठानेर मात्रै लेख्दैछु । यसलाई मेरो धारणा ठान्नु होला, जवाफ नठान्नु होला ।

शायद मेरो जिवनमा पहिलो पटक होला, कसैको फेसबुक स्ट्याटसको बारेमा मैले यसरी लेखेको ।

दीगो परिवर्तनको लागि व्यक्ति केन्द्रीत होईन, असल शासकीय प्रणाली र नीतिगत स्पष्टता आवश्यक हुन्छ भन्ने विषय महत्वपुर्ण लागेर लेख्दैछु ।

के म यो विश्वास गर्न सक्छु कि तपांई आफैले लेख्नु भएको यो स्ट्याटस प्रति तपांईले र तपाईले आजको दिनसम्म अत्यन्त धेरै विश्वास गरेका मानिसहरुले जिवनभर ईमानदार भएर यसको पालन गर्नु हुनेछ र यसप्रति अटुट न्याय गर्नु हुनेछ ?
(भोली को को के के हुन्छन् भन्न र लेख्न सकिन्न, त्यसैले आजको दिनसम्म भनेर मात्रै लेखे । अन्यथा नठान्नु होला ।)

यसको पुष्टि हतारमा अहिले नै नगर्नु होला । तपांईको र तपांईले विश्वास गर्नु भएको साथीहरुको भविष्यको आचरण र व्यवहारले संयमित भएर आफै यसको पारदर्शीरुपमा पुष्टि गर्नेछ ।

कसैले पनि लेखेको र बोलेको कुरामा मनभित्र ईख र व्यवहारमा विष नराख्नु होला ।

बोली र व्यवहारमा एकरुपता नभएमा कसैले पनि विश्वास गर्दैन । अहिलेको ज्वलन्त समस्या भनेको मानिसको बोली र व्यवहारमा एकरुपता नहुनु पनि हो, जसले आम मानिसमा घोर निराशा जन्मायो ।

आम मानिसले भ्रष्टाचारमा शुन्य सहनशीलता चाहेका छन् । भ्रष्टाचार विरुद्ध कडा कानूनहरुको निर्माण वा भएको कानूनहरुबाट नै भ्रष्टाचारको कडाईका साथ रोकथाम र भष्टाचारीहरुलाई कानून अनुसारको दण्ड चाहेका छन् । देशमा दण्डहिनताको अवस्था रहनु हुंदैन ।

मैले कसैको पनि क्षुद्रता, क्षुब्धता र कुण्ठाको जवाफ दिने वा जवाफ लेख्ने गरेको छुईन ।

मेरो पहिले देखिको विश्वास पनि हो -असल शासकीय प्रणाली र नीतिगत सुधार प्रति । शासकीय प्रणाली, संविधान, कानून, भ्रष्टाचारमा शुन्य सहनशीलता, समावेशिता र नीतिगत सुधारहरु महत्वपुर्ण हुन्छन् ।

असल प्रणालीले पपुलिज्मलाई विश्वास गर्दैन । यसले व्यक्तिको भक्ति, गुणगान, बखान र आरतीलाई पनि विश्वास गर्दैन ।

व्यक्ति स्वयंले आफ्नो बारेमा गरेको प्रचार तथा साईबर सेना लगाएर आफ्नो गुणगानमा गराएको प्रचार र अरुको बारेमा खेदो खनेर गराएको दुष्प्रचारलाई पनि प्रणालीले विश्वास गर्दैन । प्रणालीले यस्तो भष्मासुर प्रवृतिलाई गलत ठान्छ । प्रणालीले पपुलिज्मको भ्रष्ट स्वरुपलाई स्विकार गर्दैन । प्रणालीले दास, अवसरवादी, चाकडिबाज, कुरौटे र धोखेबाजहरुलाई पनि विश्वास गर्दैन ।

प्रणालीले पीत पत्रकारितालाई स्विकार गर्दैन र विश्वास पनि गर्दैन । प्रणालीले कर छल्ने व्यापारीलाई विश्वास गर्दैन ।

मैले खोजेको पनि प्रणालीमा नै परिवर्तन हो ।आचरण र व्यवहारमा नै आमूल परिवर्तन हो ।

सीमित व्यक्ति, समूह, गुट, जाति, वर्ग र समुदायको देशको सबै प्रकारको शासन, सत्ता, सम्पत्ति, संस्था, संगठन र समाजमा भएको एकाधिकारमा नै आमूल परिवर्तन हो ।

राजनीतिक दलहरुमा भएको सीमित समुदायहरु र व्यक्तिहरुको एकाधिकार र लैंगिक असमानतामा परिवर्तन हो । शासन, सत्ता, संवैधानिक निकायहरु र राज्यका संस्था तथा संयन्त्रहरुमा भएको सीमित समुदायहरुको एकाधिकार र लैंगिक असमानतामा आमूल परिवर्तन हो ।

आफुलाई सर्बश्रेष्ठ मान्ने र अरुलाई तुच्छ ठान्ने विवेकहीन प्रवृतिमा परिवर्तन हो । आफु मात्र संगठन हो र आफुले बोलेको मात्रै सहि तथा सत्य हो तथा अरु सबै गलत र झुठो हुन् भन्ठान्ने स्टण्टबाजी चंचल घमण्डवादी प्रचारात्मक मनोवृतिमा परिवर्तन हो । जातीवादी जड मानसिकतामा परिवर्तन हो ।

आफ्नो बोलीको टुंगो नहुने, बचन एउटा र कर्म अर्कै हुने प्रवृति तथा क्षण क्षणमा आफ्नो बचन, विचार र व्यवहारहरुमा परिवर्तन गरिरहने पात्रहरु र प्रवृतिहरुमा परिवर्तन चाहेको हो । आफुसंग जादु छ र आफु नै परिवर्तनको लागि जादुगर हो भन्ने भ्रम दिन सक्छु भन्ने भ्रममा रहेका पात्रहरु र प्रवृतिहरुमा परिवर्तन चाहेको हो ।

मैले खोजेको परिवर्तन शान्तिपुर्ण र अहिंसात्मक माध्यमबाट आमूल परिवर्तन हो । मैले खोजेको परिवर्तन मानविय संवेदना र मानव अधिकार सहितको विवेकपुर्ण परिवर्तन हो। मैले खोजेको परिवर्तन माया, प्रेम, स्नेह, भातृत्व, सदभाव र सहिष्णुताको परिवर्तन हो, घृणा र ईर्ष्याको परिवर्तन होईन ।

क्रमागत विकासको ९ईभोल्युशनरी० परिवर्तन हो । राज्य, शासन, संगठन र समाजमा समावेशी हुनु पर्छ भन्ने परिवर्तन हो । नेपालमा र बिदेशमा रहेका सम्पुर्ण नेपालीहरुमा मलाई कुनै दुःख वा संकट वा अभाव आई लाग्यो भने मलाई मेरो देश र राज्यले हेरचाह गर्नेछ भन्ने व्यवहारिक विश्वास र अनुभूति दिलाउनु पर्ने आमूल परिवर्तन हो ।

केवल बहुदलिय संसदीय शासन प्रणाली मात्रै बहुलवादमा आधारित बहुदलिय शासन प्रणाली होईन् । बहुलवादमा आधारित बहुदलिय शासन प्रणालीका धेरै मोडलहरु छन् । जस्तै ( संबैधानिक राष्ट्र प्रमुख र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री मोडल, प्रत्यक्ष निर्वाचित राष्ट्रपति मोडल, संसदीय प्रणाली मोडल, स्विजरल्याण्डको फेडरल काउन्सिल मोडल र अन्य शासकीय मोडलहरु । यसैले केवल बहुदलीय संसदीय शासन प्रणालीमा मात्रै अल्झिनुको सट्टा अन्य शासकीय प्रणालीहरुको विषयमा पनि बहस र छलफल गरौं । शान्तीपुर्ण र अहिंसात्मकबाट आम नेपालीहरु बीच संवाद र सहमतिबाट संबैधानिक बाटोबाट नै शासकीय प्रणालीमा आवश्यक परिवर्तन गर्न सकिन्छ ।

दक्षिण एशियामा भारत बाहेकका देशहरुमा संसदीय प्रणालीले किन राम्रोसंग काम गर्न सकेन । दक्षिण एशियासंगै जोडिएको म्यानम्यार ९बर्मा०मा पनि संसदीय व्यवस्थाले किन राम्रोसंग काम गर्न सकेन । शान्त मनले यसको विवेचना गर्ने कि नगर्ने रु कुनै पनि शासन प्रणालीको पहिलो आधारभूत तत्व भनेको नै त्यसले जनताको विश्वास हांसिल गरेको र जनताको विश्वास कायम नै राखिराखेको हुनु पर्छ ।

मैले खोजेको नेपालको शासकिय प्रणालीमा पनि परिवर्तन हो । बहुदलिय संसदीय प्रणालीमा पनि परिवर्तन हो ।

मैले खोजेको शासकीय प्रणालीमा परिवर्तन बहुलवादमा आधारित बहुदलिय व्यवस्थामा परिधि भित्र रहेको संबैधानिक राष्ट्र प्रमुख, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, मिश्रित निर्वाचन पद्धतिबाट निर्वाचित संसद, संसद सदस्यले मन्त्री हुन नपाउने र संसद बाहिरबाट मन्त्रीहरुको नियुक्ति, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, ९राष्ट्रपति, प्रधानमन्त्री, संसद, मुख्यमन्त्री, प्रदेशको संसद र स्थानीय तहहरुको पदावधि अधिकतम चार बर्ष मात्र रहने संबैधानिक व्यवस्था०, संसदलाई उसको कार्यकालभरी कसैले पनि विघटन गर्न नपाउने, संसदको काम देशको लागि आवश्यक कानून निर्माण गर्ने , सबल संबैधानिक निकायहरु र अब्बल राज्यका संस्थाहरु भएको समावेशी लोकतन्त्रात्मक शासन प्रणाली हो ।

यसले व्यवस्थापिका, कार्यपालीका र न्यायपालीका बिच शक्ति सन्तुलन र शक्ति पृथकिकरणको सिद्धान्तलाई वास्तविकरुपमा अंगीकार गर्नुपर्छ । व्यवस्थापिकालाई कार्यपालीका चयनको संवैधानिक प्रक्रियाबाट अलग राख्नु पर्छ अर्थात् संसदलाई प्रधानमन्त्री चयनको प्रक्रियाबाट अलग राख्नु पर्छ । संसदले मन्त्री हुन नपाउने व्यवस्था गर्नु पर्छ । प्रधानमन्त्रीलाई जनताले मतदान गरेर प्रत्यक्ष चुनाव गर्ने र जन निर्वाचित संसदले कानून निर्माण गर्ने बहुलदलिय शासन प्रणालीको विषयमा पनि बहस गरौं ।

देशमा रहेको यथास्थिति र जडसुत्रवादी मनस्थितिमा परिवर्तन हो । देशलाई सबै क्षेत्र र संस्थाहरुमा सुशासन चाहिएको छ । रोजगारी र आर्थिक समृद्धि चाहिएको छ । स्वास्थ्य, शिक्षा, रोजगार र न्यायमा समान र न्यायोचित व्यवहारिक पहुंच चाहिएको छ ।

नेपालको संविधानमा लेखिएको धारा १६ देखि धारा ४६ सम्मको अधिकारको कानून निर्माण गरेर व्यवहारिकरुपमा ति अधिकारहरुको उपभोग गर्ने कानून, निर्देशिका र कार्यविधि चाहिएको छ ।

नेपालको संविधानको अनुसूचि ५ देखि अनुसूचि ९ सम्मको अधिकारहरुको कानून निर्माण गरेर व्यवहारिकरुपमा ति अधिकारहरुको उपभोग गर्ने कानून, निर्देशिका र कार्यविधि चाहिएको छ ।

नेपालको संविधानमा लेखिएको प्रत्येक मौलिक हक तथा अधिकारहरु सहित अन्य लेखिएका सम्पुर्ण हक तथा अधिकारहरु केवल कागज र दस्तावेजहरुमा मात्र सीमित नहोस् र यी हक तथा अधिकारहरुको तत्काल कानून निर्माण गरि निर्देशिका बनाएर आम नेपालीले उपभोग गर्ने व्यवस्था तुरुन्त होस् भन्ने चाहेको हो ।

न्याय दिने स्थानमा बसेकाले कसैलाई अन्याय गर्ने वा कसैमाथि भएको निरन्तर भईरहेको अन्यायलाई टुलटुलु हेरेर बस्ने छुट पनि हुंदैन ।

स्पन्दनरहित एकाधिकारले आक्रोश जन्माउछ तर मनभित्र आक्रोशको ज्वाला दन्कियो भनेर विवेकहिन र अराजक हुने छुट कसैलाई पनि छैन र हुंदैन पनि ।

भावनामा बगेर र वेदनालाई लेखेर मात्रै परिवर्तन हुंदैन ।
परिवर्तनले पपुलिज्म खोज्दैन । यसले कठोर विवेकपुर्ण अनुशासन खोज्छ, क्षणिक लोकप्रिय विवेकहिन अराजकता खोज्दैन ।

परिवर्तनले असल बलियो प्रणाली खोज्छ र प्रणाली प्रति ईमानदार र कर्तव्यनिष्ट अग्रसरता लिने संस्थाहरु खोज्छ । परिवर्तनले गफाडि व्यक्ति खोज्दैन, यसले बलियो न्यायोचित पद्धति खोज्छ ।

परिवर्तनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता खोज्छ । आमूल परिवर्तनले समावेशिता खोज्छ, एकल जातीय एकाधिकारवाद खोज्दैन । परिवर्तनले विविधता र विविधता बिचको एकतालाई सहज स्विकार गर्दछ ।

यसले प्रणाली भित्रका सबै संस्थाहरु र समाजमा सबै प्रकारका एकाधिकारवादको सहजै सदैव संयमित सुगम अन्त्य खोज्छ ।

परिवर्तनले अधिक भ्रष्टाचार, चरम जातिवाद, अतिशय सामन्तवाद, पश्चवर्ती जडसुत्रवाद, परम्म्परागत पितृसत्ता र अतिवादी दोहोरो चरित्रको न्यायोचित विवेकपुर्ण व्यवहारिक अन्त्य खोज्छ ।

गुलियो भावुक वा उत्तेजक जोशिलो भाषण खोज्दैन ।

परिवर्तनले नत पपुलिज्ममा भावनात्मक विश्वास गर्नेहरुको भीड र साथ नै खोज्छ । नत पपुलिज्मलाई साथ नै दिन्छ ।

पपुलिज्मले समाजलाई भावुक, उत्तेजित र अराजक बनाउन त सजिलै सक्छ तर समाजको समस्याहरुको दीर्घकालीन ठोस समाधान दिन सक्दैन ।

चनाखो भएर ख्याल राखौं कि पपुलिज्मको केही स्वरुपहरु निरंकुशताको पहिलो पाईला पनि हुन सक्छन् । यसको गन्तव्य अन्त्यहिन र अकल्पनिय कालरात्री पनि हुन सक्छ ।

परिवर्तनले पपुलिज्मसंगको संयमित सतर्कता र अपार दुरी पनि खोज्छ । असल परिवर्तन र पपुलिज्मका केही रुपहरु नदिका दुई किनारा जस्ता हुन्छन् । असल परिवर्तनले पपुलिज्मका केही रुपहरुलाई कहिल्यै पनि विश्वास गर्दैन र स्विकार पनि गर्दैन ।

असल परिवर्तनले अहंकारवाद, अहंवाद, ठालुवाद र म मात्रै सत्य हुं भन्ने घमण्डवादलाई विश्वास गर्दैन । यसले आत्म संयमता, आत्म समीक्षा र आत्म परिक्षणको अग्नी परीक्षा लिन्छ ।

समाज हामी सबैको पवित्र भावना र पहिचानहरुको सामुहिक घर हो ।

समाज केवल प्यारो सपना र गुलाबी मायाहरुको संसार मात्र होईन, कठोर निर्णय र संकल्पहरुको भूमण्डल पनि हो ।

समाज मिलेर नै देश र राष्ट्र बन्छ ।

के तपांई मेरो धारणाहरुसंग सहमत हुनुहुन्छ ?

तपांई मेरो धारणासंग निसंकोच र निर्भय असहमत पनि हुन सक्नु हुन्छ । म तपांईको असहमति हुने र असहमति राख्ने अधिकारको रक्षाको लागि जिवनभरी लडिरहने छु । यही त लोकतन्त्र हो ।

परिवर्तन केवल किताब वा दस्तावेजहरुमा लेखिएको शब्दहरुबाट आउदैन । यो त समाजको जिउंदो पहिचान र अन्तरआत्माबाट आउछ । समाजको जीवित पहिचानलाई अलग गरेर बनेको शासकिय प्रणाली दीर्घकालीन हुन सक्दैन । यसले समाजलाई समेटन पनि सक्दैन ।

मैले खोजेको परिवर्तन पनि व्यक्तिको परिवर्तन होईन, प्रणालीमा परिवर्तन नै हो । प्रणालीमा पनि झिनामसिना परिवर्तन होईन, आमूल परिवर्तन खोजेको हो । यो म एक्लैको प्रयासले संभव छैन । हामी सबैको अटुट साथ, सहयोग तथा शान्तिपुर्ण र अहिंसात्मक निरन्तरको प्रयास र संघर्षले मात्रै असल प्रणालीको दीर्घकालीन यात्रा संभव हुन सक्छ र आमूल परिवर्तन संभव छ ।

आमूल परिवर्तन संभव छ र यो गर्न सकिन्छ । अहिंसा, शान्ती, संयम, शिक्षा, सामाजिक सुरक्षा, सामाजिक न्याय र औधोगिकरणको बाटोबाट । राजनीतिक, आर्थिक, शैक्षिक र सामाजिक क्षेत्रको प्रणालीमा वैज्ञानिक र व्यवहारिक परिवर्तन गरेर दीर्घकालीन आमूल परिवर्तन संभव छ । यसर्थ, व्यक्तिमा भन्दा बढी प्रणालीमा विश्वास गर्ने मनोविज्ञान निर्माण गरौ । व्यक्तिमा भन्दा बढी प्रणालीमा सुधार र परिवर्तन गरेर नै आमूल परिवर्तन गर्न सकिन्छ भन्ने आत्मविश्वास र मानसिक स्पष्टताको विकास गरौं ।

विवेक गुमाएको व्यक्ति र जनताको विश्वास गुमाएको शासकीय प्रणाली उस्तै उस्तै हुन् । दुबैले नैतिक आधार र अधिकार गुमाई सकेका हुन्छन् । नैतिक आधार र अधिकार दुबै गुमाई सकेको व्यक्ति वा शासकीय प्रणालीले केवल वैधानिक आधारको भरमा आफुलाई निरन्तरता दिनु उचित हुन्छ र रु

आऔं, बहुलवादमा आधारित बहुदलिय प्रणाली, विधिको शासन र मानव अधिकारलाई आत्मसात गर्दै हामी सबै मिलेर शान्तिपुर्ण र अहिंसात्मकरुपले दीर्घकालीन आमूल परिवर्तन र असल शासकीय प्रणालीको लागि बहस, छलफल र संवाद गरौं ।

प्रतिक्रिया