एनभिएको बैंकहरुलाई खबरदारी
काठमाडौं, १९ कात्तिक । सम्पत्ति मुल्यांकनकर्ताहरुको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएस (एनभिए)ले आज बिभिन्न बैंकहरुलाई खबरदारी गरेको छ । नेपाल एसबिआई, मुक्तिनाथ विकास, सांग्रिला विकास र गरिमा विकास बैंकलाई विभिन्न विषयमा एनभिएको पदाधिकारीसहितको टोलीले ध्यानाकर्षण गराएको सचिव इ.रबिन्द्र अधिकारीले बताए ।
नेपाल एसबिआई बैंकले आज (बुधबार) एक सूचना निकालेर मुल्यांकनकर्ताहरुलाई सूचिकरण हुन आह्वान गरेको थियो । सो सूचनामा एनभिएको सदस्य अनिवार्य हुनु नपर्ने र ५ लाख रुपैयाँ धरौटी राख्नु पर्ने उल्लेख गरेपछि सो बैंकलाई पनि ध्यानाकर्षण गराइएको इ.अधिकारीले जानकारी दिए । एनभिएले आपत्ति जनाएपछि भ्यालुयर्ससँग सम्झौता गर्दा नेपाल बैंकर एशोसिएसनसँग भएको सम्झौताअनुसार ३ लाख रुपैयाँ धरौटी स्वरुप लिने प्रतिबद्धता जनाएको छ । त्यसैगरी सो बैंकले एनभिएको सदस्य नभएकाहरुलाई मुल्यांकनकर्ताको रुपमा सूचिकरण नगर्ने प्रतिबद्धता जनाएको छ ।
गत भदौ २८ गते एनभिएले डेभलपमेन्ट बैंकर्स एसोसियन नेपाल (डिबान)को अध्यक्ष रहेको सांग्रिला विकास बैंक र सचिव रहेको गरिमा विकास बैंकलाई पत्र काटेको थियो । सोही पत्रको सन्दर्भमा आज छलफल भएको छ । एनभिएका पदाधिकारी समेतको टोली र गरिमा विकास बैंकको सिइओसहितको टोलीबीच आज छलफल भएको छ ।
गरिमा विकास बैंकका सिईओ माधवप्रसाद आचार्यले आफ्ना क्रेडिट डिपार्ट इन्चार्जलाई सर्भिस डा«फ्ट एक हप्ताभित्र एनभिएको अनुसार सच्चाउन निर्देशन दिएको इ. अधिकारीले बताए । सर्भिस डा«फ्टबारे एनभिएले आपत्ति जनाउदै आएको थियो । सो कार्यमा एनभिएको तर्फबाट सहजीकरण गर्न उपाध्यक्ष इ.दीनेशकुमार पाठकलाई र गरिमा विकास बैंकका क्रेडिट हेड इन्चार्ज इश्वरी ढकाललाई जिम्मेवारी दिइएको छ । सो बैंकले पुर्णरुपमा अटोमेसनमा मुंल्यांकनकर्ता इन्जिनियरहरुलाई काम दिने प्रतिबद्धतासमेत जाहेर गरेको इ.अधिकारीले बताए । सम्झौता गर्दा देखि नै एनभिएले तोकेको फि पनि संगै लागुहुने कुरामा सो बैंकले सहमति जनाएकोले हाललाई गरिमा बैंकविरुद्धको आन्दोलन एनभिएले कात्तिक महिनासम्म अगाडी नबढाउने निर्णय गरेको छ ।
इ.अधिकारीका अनुसार मुक्तिनाथ विकास बैंकले वर्षौदेखि मुल्यांकन गर्दै आएका मुख्यांकनकर्ताहरुलाई कार्यअवधि थप गर्दा अन्य ३ वटा बैंकबाट पनि सिफारिस गर्न पर्ने नियम लागु गरेको थियो । बैंकको सो निर्णयविरुद्ध पनि एनभिएले तुरुन्त निर्णय सच्चाउन आग्रह गरेको थियो । “आफैले काम गरिरहेको ठाउँमा फेरी काम गर्न अर्को ३ ठाउँको अनुभवको पत्र माग्नु आफैमा हास्यस्पद भएकोले तुरुन्त सच्चाउन हामीले दबाब दिएका हौं र बैंकले पनि अब त्यस्तो नगर्ने प्रतिबद्धता जनाएको छ ।”
अनगिन्ती इन्जिनियर राखेर काम नदिने र एनभिएले तोके अनुसारको पारिश्रमिक लागु नगर्ने विषयमा पनि छलफल हुँदा डिबानमार्फन नै समस्या सुल्झाउने विषयमा बैंक तयार रहेको कुरा समेत इ.अधिकारीले जानकारी दिए ।
त्यसैगरी, सांग्रिला विकास बैंकले पनि डिबानमार्फत नै तुरुन्तै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । डिबान अन्तर्गतका बैंंकहरुको काम कसरी अघि बढ्छ भनेर आगामी मंसिर १ गतेसम्म एनभिएले पर्ख र हेरको नीति समेत अपनाएको इ.अधिकारीले बताए ।


