कृष्णभीरको पहिरोले नागढुंगा–मुग्लिन सडक अनिश्चित, दशैंअघि खुल्ने सम्भावना न्यून
काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीसँगै कृष्णभीर क्षेत्रमा खसेको ठूलो पहिरोका कारण नागढुंगा–मुग्लिन सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ। नदीको सतहदेखि नै ठूलो पहिरो खसेर सडकमा गम्भीर क्षति पुगेपछि सोही स्थानबाट सडक पुनः सञ्चालन गर्न स्थायी मर्मत तथा पुनर्निर्माण आवश्यक पर्ने भएको छ।
नागढुंगा–मुग्लिन सडक योजना ९पश्चिम खण्ड० का अनुसार क्षतिको अवस्था निकै गम्भीर रहेकाले तत्काल सडक खुलाउने सम्भावना कम छ। सडक योजनाका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पहिरोको क्षति अध्ययन, विस्तृत डिजाइन तथा टेन्डर प्रक्रियापछि मात्रै पुनर्निर्माणको काम अघि बढाउनुपर्ने भएकाले समय लाग्नेछ।
उनका अनुसार अहिलेको अवस्थालाई हेर्दा दशैंअघि कृष्णभीरबाटै सडक सञ्चालनमा आउने सम्भावना निकै न्यून रहेको छ।
यसअघि पनि कृष्णभीरलाई पहिरोको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरी जोखिम न्यूनीकरणका लागि मर्मत तथा संरक्षणको काम भइरहेको थियो। जोखिम कम गर्न भर्टिकल पाइलिङको काम पूरा भइसकेको थियो भने होरिजन्टल एन्करिङको काम बर्खापछि गर्ने तयारी गरिएको थियो।
तर, पूर्वतयारीका काम पूर्णरूपमा सम्पन्न नहुँदै आएको ठूलो पहिरोले सडकमा थप क्षति पुर्याएपछि सडक सञ्चालन थप जटिल बनेको हो।
सडक तत्काल खुल्ने अवस्था नरहेपछि यात्रु तथा मालवाहक सवारीसाधनको आवागमनलाई सहज बनाउन वैकल्पिक मार्गको खोजी तीव्र पारिएको छ। सडक योजनाका प्राविधिक टोलीले विभिन्न सम्भावित रुटको स्थलगत निरीक्षण गरिरहेका छन्।
निरीक्षणपछि छोटो, सुरक्षित र व्यावहारिक मार्ग पहिचान गरी वैकल्पिक रुटका रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको सडक योजनाले जनाएको छ।
कृष्णभीरमा सडक पुनर्निर्माणका लागि लामो समय लाग्ने देखिएसँगै नागढुंगा–मुग्लिन सडक हुँदै यात्रा गर्ने हजारौं यात्रु तथा मालवाहक सवारीसाधनका लागि वैकल्पिक मार्ग तत्कालको प्रमुख चुनौती बनेको छ।


