८ भाद्र २०८२, आइतबार | August 25, 2025

विदेशीको इशारामा लिपि मेट्न लागेका सत्ताधारीहरुलाई जनताले लखेट्छन्ः डा. केसी


August 24, 2025
2.4k
Shares

काठमाडौं, ८ भादै । इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध जाग नेपालीले आन्दोलनको घोषणा गरेको छ । सरकारको कदम नेपालको लिपि मेट्ने षड्यन्त्र अन्तर्गत भएको भन्दै जाग नेपाली आन्दोलनमा होमिएको संयोजक डा. दीपेश केसीले जानकारी दिए ।

रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी जाग नेपालीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रममा देवनागरी लिपि मेटेर रोमन लिपि राख्न वाध्य पार्नेहरुलाई नेपाली जनताले चाँडै लखेट्ने गरी कडा आन्दोलन हुने संयोजक डा. केसीले बताए । देशको लिपि नामेट पार्न खोज्ने नेतालाई जनताले देशबाटै लखेट्ने ठोकुवा गरे । उनले भने, अरबौं कमिशनको लोभमा विदेशीलाई नेपाली जनता चुसेर पैसा पनि दिलाउने देवनागरी लिपि पनि मेटाउने षड्यन्त्रलाई परास्त गर्नुपर्छ । उनले सत्ताको दुरुपयोग गरी आम नेपाली नागरिकलाई मातृभाषा सडकबाटै मेटाउने ग्रान्डडिजाइनविरुद्ध आ आफ्नो ठाउँबाट प्रतिकार गर्न आव्हान गरे । उनले भने, माफिया योजनामा देवनागरी लिपि मेटाउने राष्ट्रघातीहरुले जनतालाई डरत्रास धम्की दिएका छन् । यस्तो धम्कीबाट विचलित नभई रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट बहिष्कार गरी जडान अवज्ञा गर्न अपिल गर्दछौं ।

जाग नेपालीका संयोजक डा. केसीले आन्दोलनका कार्यक्रम अन्तर्गत विभिन्न राजनीतिक दल र संघसंस्थालाई ज्ञापनपत्र बुझाउने, समाजका विभिन्न संस्था र व्यक्तित्वहरुसँग परामर्श गर्ने देखि सडकमात्र उत्रने सम्मको कार्यक्रम रहेको बताए । सडकमा उत्रिएर विदेशीको इशारामा ल्याइएको इम्बोस्ड नम्बर प्लेटका योजनाकारहरुको भण्डाफोर गर्ने समेत बताए । सत्ताको बलमा भएका बलजफ्तीले देश रक्तपातपूर्ण भिडन्तमा लान खोजिएको उनको भनाई छ ।

अधिवक्ता रामेश्वर राउतले इम्बोस्ड नम्बर प्लेट देशको राष्ट्रभाषा नामेट पार्ने देखि जनतालाई असुरक्षित बनाउने नियतले ल्याइएको बताए । यसमा खरबौंको खेल रहेको भन्दै आम नेपाली जनताले बहिष्कार गर्नुपर्ने बताए । विभिन्न योजना र बहानामा नेपाली भाषाको देवनागरी लिपि मेट्ने विदेशी षड्यन्त्र अन्तर्गत आएको बताए । यसलाई परास्त गर्न आम नेपाली जनता एकजुट भई बहिष्कार गर्नुपर्ने बताए । इम्बोस्ड नम्बर प्लेट ठूलो भ्रष्टाचार पनि भएको उनको भनाई थियो ।

नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले इम्बोस्ड नम्बर प्लेटले नेपाली भाषा मेट्ने, भ्रष्टाचार गर्ने र नेपालीलाई असुरक्षित बनाउने खुलाए । इम्बोस्ड नम्बर प्लेट आधुनिक प्रविधि भइकन यसलाई दुरुपयोग गर्ने नियत भेटिएको बताए । नेपाल र नेपालीको मातृभाषा जोगाउन यसविरुद्ध कडा आन्दोलनमा जानुको विकल्प नभएको उनको भनाई थियो ।

पूर्व सुरक्षाकर्मी परिषद्का हेमशंकर गिरीले विदेशीको इशारामा एकपछि अर्को आक्रमणहरु भइरहेको बताए । देशको धर्ममाथि आक्रमण गरेपछि भाषा र लिपिमाथि आक्रमण भएको उनको भनाई छ । अब विक्रम संवत् र नेपाली सेनाको डमरु र त्रिशुल तारोमा पर्न थालेको भन्दै चुपचाप नसहने बताए । नेपाली जनताले राष्ट्रियतामाथिको यस्तो आक्रमणको कडा प्रतिवाद गर्ने भन्दै आन्दोलनको विकल्प नभएको बताए ।

राष्ट्र, राष्ट्रिय धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका यातायात विभाग प्रमुख सानु मगरले इम्बोस्ड नम्बर प्लेट बहिष्कार गरिने बताए । यसलाई बलजफ्ती लाद्न खोजे कडा प्रतिकार गर्ने भन्दै सरकार जनतालाई धम्कीले शासन चलाउन खोजेको बताए । उनले जर्बजस्ती इम्बोस्ड नम्बर प्लेट लाद्न खोजे जनता सडकमा उठ्ने र गम्भीर अवस्था उत्पन्न हुने बताए ।

प्रतिक्रिया