सिडेन अध्यक्षमा मेरो जित निश्चित छ – इ. धनेन्द्र केसी

काठमाडौं,७ भदौं । नेपाली काँग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को आठौं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा अध्यक्ष पदमा इ. धनेन्द्र केसीले प्यानलसहित उम्मेदवारी दिएका छन् । बिहीबार उम्मेदवारी दर्ता गराएका केसीले ७ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।
भदौ १४ गते हुने निर्वाचनमा केसीले “निरन्तरता र थप प्रतिबद्धता“ नारासहित संविधानको मर्म बमोजिम सातै प्रदेश र अधिकांश स्थानीय तहसम्म संगठन बिस्तार गर्ने, इन्जिनियरिङ पेशा र व्यवसायसंग सम्बन्धित नीतिगत, कानुनी, राजनैतिक समस्या र चुनौतिका बारेमा कांग्रेसको केन्द्रीय तह, प्रशासनिक तहलगायत सम्पुर्ण तहमा निरन्तर बहस पैरबी गर्ने, पेशागत सम्बर्धनका लागि विभिन्न तहमा सभा सम्मेलन पुर्वाधार निर्माण जस्ता बहस, तालिम गोष्ठी लगायत निरन्तर कृयाकलाप गर्ने, मुल्यांकन गरेकै आधारमा इन्जिनियरहरुलाई बैंकहरुले कालोसुचीमा राख्ने व्यवस्थाको अन्त्य गर्ने र नेपाल भ्यालुयर्स एशोसिएशनले तोकेको परामर्श शुल्क तत्काल लागु गर्ने प्रतिबद्दता जनाएका छन् ।
उनको प्रतिवद्धतापत्रमा अगाडी भनिएको छ, ‘शुभेच्छुक संस्थाको हैसियतमा नेपाली कांग्रेसको पार्टी सगठनमा बलियो उपस्थिति र सक्रिय भुमिकामा स्थापित गराउने,ईन्जिनियर तथा आर्किटेक्टहरुलाई कर्तब्य पालनाका क्रममा परेका कुनै पनि समस्याका बिषयमा तत्काल सम्बोधन गरि समाधानका लागि पैरबी, दबाब सृजना गर्ने कार्यमा महत्वपुर्ण भुमिका खेल्ने, इन्जिनियर एशोसियसन लगायत अधिकांश पेशागत संस्थाहरुमा आफ्नो नेतृत्वमा सशक्त भुमिका निभाउने र व्यक्ति केन्द्रीत भन्दा पनि सामुहिक र साझा नेतृत्वमा आधारित सिडेनको भुमिका स्थापित गराउने छौं ।’
केसीको प्रस्तावकमा वर्तमान अध्यक्ष इ.लक्ष्मण केसी र समर्थकमा इ. सुमन थापा रहेका छन् ।
केसी नेतृत्वको प्यानलबाट इ. सागर समशेर शाही उपाध्यक्ष, इ. भुपेन्द्र श्रेष्ठ महासचिव, इ. सन्तोष नेपाल उपमहासचिव र इ. रस्मिता बन्जरा कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
सिडेनको आठौं कार्यकारिणी समितिको आगामी शनिबार काठमाडौंमा हुने निर्वाचनमा केसीले आफ्नो प्यानलसहित विजयी हुने दाबी गरेका छन् । उनले भने, ‘धेरै साथीहरु मेरो पक्षमा हुनुहुन्छ, मेरो जित सुनिश्चित छ ।’ कार्यकारिणी समितिका लागि अध्यक्षसहित ५ पदाधिकारी र १३ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।
इ. रवि भुषण झा ले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । झा को प्रस्तावक पूर्व अध्यक्ष इ.उमेश प्रसाद थानी र समर्थकमा इ.डा.नारायण प्रसाद अधिकारी रहेका छन् ।