अमेरिका गैरकानूनी रुपमा पठाउने गिरोहका सञ्जयले तीन युवतीलाई अलपत्र पारेपछि…

दिल लिम्बू, काठमाडौं । अमेरिका गैरकानूनी रुपमा पठाउने गिरोहका सदस्यहरुको यतिबेला भागभाग छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका छिर्ने गैरकानूनी बाटोहरुमा कडाई गरेपछि गिरोहहरु भागाभाग हुने अवस्था बनेको हो ।
कतिपय व्यक्तिहरुसँग अमेरिका पठाउने भन्दै ३० देखि ८० लाख उठाएर गिरोहका सदस्यहरु फरार भइरहेका छन् । कतिपयले मानव तस्करको क्रममा बीच बाटोमै मानिसहरुलाई अलपत्र पारेर छाडेका छन् । यस्तै गरेका छन् अमेरिका पठाउने मानव तस्करी गिरोहका सदस्य सञ्जय लामाले ।
सिन्धुपाल्चोक घर भएका लामा अमेरिका गैरकानूनी लाने समूहसँग आवद्ध भएर काम गर्दथे । उनी अमेरिका जान चाहनेहरुलाई खोजी खोजी आकर्षित गर्दथे । त्यस्ता व्यक्तिहरुसँग अमेरिका पठाउने भन्दै ३० देखि एक करोडसम्म असुल्थे । उनीहरुले अमेरिका पुग्न आतुर तीनजना चेलीलाई भेटे । उनीहरुबाट ठूलो रकम उठाए । अमेरिका पठाउन नसके रकम फिर्ता दिने सम्म आश्वासन दिए । अमेरिका जाने सपना देखेर तीनैजना महिलाले रकम दिए ।
सञ्जय लामा आफै सक्रिय भएर महिलाहरुलाई दिल्ली पु¥याए । गुडगाउँस्थित होटलमा एक महिना राखे । अमेरिका जाने लाइन मिल्दैछ भनी अलमलाए । उनीहरुलाई जापानबाट मेक्सिको हुँदै अमेरिका पु¥याउने आश्वासन दिइएको थियो । लामाले विगतमा पनि गैरकानूनी रुपमा मानिसहरुलाई पठाउने गर्दथे । तर, यसपटक भने लाइन बन्द भयो ।
मेक्सिकोको बाटोबाट अमेरिका प्रवेश गराउन नसक्ने सूचना पाएपछि लामा दिल्लीबाट भागेर नेपाल छिरे । युवतीहरु गुडगाउँको होटलमा अलपत्र परे । उनीहरु आफै फर्किए । नेपाल आएर लामालाई बल्लतल्ल भेट्दा रकम फिर्ता गर्छु भने । तर, अलमलाउँदै लगेर उनी फरार भए ।
अमेरिका जाने सपना देखेका तीनैजना युवतीहरु यतिबेला पीडामा छन् । बीसौं लाख रकम डुबेको उठाउने चक्करमा अहोरात्र दौडिइरहेका छन् । पीडित एक युवती भन्छिन्, ‘अमेरिका जाने सपना देख्दा जीवन नै बर्बाद हुने भयो । पैसा पनि गयो काम पनि गयो ।’ अर्की युवती दोषीमाथि कारबाहीको आशामा छिन् । मानव तस्करको गिरोहले यसरी नै मानिसहरुलाई पीडित बनाउँदै देशमा नयाँ समस्या ल्याइरहेको छ ।