यसरी आएको थियो हिमताल फुटेर रसुवामा विध्वंशकारी बाढी

काठमाडौं, २६ असार । रसुवामा मंगलबार आएको विध्वंशकारी बाढीको कारण पत्ता लागेको छ । बाढी हिमताल फुटेर आएको पत्ता लागेको हो ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले चीनमा हिमताल विस्फोटबाटै असार २४ गते रसुवामा बाढी आएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जनाएको छ ।
महाशाखाले बाढीबारे अपडेट सार्वजनिक गर्दै हिमताल विस्फोटबाटै बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको हो । चीनको लेन्दे खोला हुँदै नेपालको भोटेकोशी नदीमा आएको बाढीले ठुलो जनधनको क्षति गरेको थियो ।
अमेरिकाको अलास्कामा हिमनदी र हिमतालसम्बन्धी अध्ययन गरिरहेका विज्ञ अमृत थापाले रसुवामा गएको बाढी सम्बन्धी प्रतिवेदन तयार गरेका छन् । उनले बाढीलगत्तै हिमताल फुटेको प्रमाणित हुने भूउपग्रहबाट लिइएको तस्बिरहरु पनि सार्वजनिक गर्दै आएका छन् ।
थापाले राडारबाट प्राप्त चित्र समेत सार्वजनिक गरेका छन् । जुन पोखरीबाट बाढी निस्केको भनिएको थियो, त्यो पोखरी पूर्ण रुपमा खाली नदेखिएको तर सानो भएको दृश्य सार्वजनिक गरेका छन् ।
थापाका अनुसार रसुवामा आएको बाढीको कारणलाई अझ नजिकबाट हेर्दा बाढी आउनु केही दिनअघि हिमनदीको माथिल्लो भागमा धेरै मात्रामा हिउँ पग्लिएको देख्न सकिन्छ । उनका अनुसार जुलाई ४ मा धेरै मात्रामा हिउँ दिखिएको र जुलाई ६ सम्म ती हिउँ प्रायः पग्लिइसकेको देखिन्छन् । यसरी पग्लिएको हिउँ हिमनदीमा बनेको ठूलो पोखरीमा जम्मा हुने, पोखरी वरिपरि रहेको जमिन कमजोर बन्ने सम्भावना हुने र पोखरीले थेग्न नसकेर बाढीको रुपमा बाहिर निस्कन सक्ने उनको भनाई छ ।-Photo Source: Amrit Thapa