२१ असार २०८२, शनिबार | July 6, 2025

शेखर–विनोद, गगन–मोहनबीचको मतभेदलाई मित्रवत ढंगले समाधान गर्नुपर्छ : उमेशजंग रायमाझी


332
Shares

काठमाडौं, २१ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझीले शेखर–विनोद, गगन–मोहनबीचको मतभेदलाई मित्रवत ढंगले समाधान गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीको शक्ति एकता भएको टिप्पणी गर्दै उनले विधि, विधान र अवसरको समानता विना त्यो सम्भव नहुने उनको भनाइ थियो ।

असार १६ गतेदेखि जारी बैठकको पाँचौ दिन आफ्नो भनाई राख्दै रायमाझीले प्रशिक्षित जनशक्तिलाई मात्र विदेश जान दिने नीति बनाउने प्रस्ताव केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरेका छन् । उनले सिटिइभिटि मार्फत प्रत्येक प्रदेशमा १ अर्बको लगानीमा तालिम केन्द्र खोलेर प्रशिक्षित व्यक्तिहरुलाई मात्र विदेश पठाउनु पर्ने उनले धारणा राखेका थिए ।

त्यसैगरी उनले कृषि, सिचाइ र चुरे संरक्षणबारे बोल्दै कृषि क्रान्तिको आधारस्वरूप किसान बैंक स्थापना गरी नागरिकता देखाएर सहज ऋण दिने व्यवस्था गरिनुपर्नेमा ध्यानकर्षण गराएका थिए ।
त्यस्तै, चुरेको संरक्षणका साथ यसको विवेकपूर्ण उपयोग गर्नुपर्छ। तराई–चुरे बीच बाध निर्माण, त्रिशुली, तमोर र अरुण नदीलाई तराईसम्म पु¥याउने जलमार्गीय योजना सुरुआत गर्नुपर्ने उनको धारणा थियो ।

भूमिको उपयोग र कर नीतिमा जोड दिदैं रायमाझीले कृषियोग्य जमिनको खरिद–बिक्रीमा हदबन्दी र कर छुट दिनुपर्ने र ढुङ्गा संकलन गरेर खेत विस्तार गर्ने कार्यक्रम ल्याउनुपर्ने प्रस्ताव पेश गरे ।
पार्टीको आन्तरिक सुदृढीकरणबारे रायमाझीले उम्मेदवार छनोट प्रक्रिया वैज्ञानिक बनाउनु पर्नेमा जोड दिए । प्रदेश र स्थानीय तहको निर्णय त्यही तहलाई गराउने जिम्मेवारी दिनुपर्ने भन्दै उनले नविकरण र सदस्यता वितरण सँगसँगै हुनुपर्ने धारणा राखे । युवा नेता रायमाझीले त्रिशुली नदीलाई हेटौंडा हुदै बारा र पर्सा, तमोर नदीलाई धरान र अरुण नदिलाई बिराटनगर सम्म पुर्‍याउन सकिने प्रस्ताव पनि बैठकमा राखेका छन् ।

रायमाझीले बैठकमा राखेका १२ बुंदे प्रस्तावहरु
१. कृषि, सिचाइ र चुरे संरक्षणः
कृषि क्रान्तिको आधारस्वरूप किसान बैंक स्थापना गरी नागरिकता देखाएर सहज ऋण दिने व्यवस्था गरिनुपर्छ।
त्यस्तै, चुरेको संरक्षणका साथ यसको विवेकपूर्ण उपयोग गर्नुपर्छ। तराई–चुरे बीच बाध निर्माण, त्रिशुली, तमोर र अरुण नदीलाई तराईसम्म पु¥याउने जलमार्गीय योजना सुरुआत गरौं।

२. भूमिको उपयोग र कर नीतिः
कृषियोग्य जमिनको खरिद–बिक्रीमा हदबन्दी र कर छुट दिइनुपर्छ। ढुङ्गा संकलन गरेर खेत विस्तार गर्ने कार्यक्रम ल्याऔं।

३. वन क्षेत्रको व्यवसायिक उपयोगः
नेपालको ४२% भन्दा बढी वन क्षेत्र व्यवस्थापन गर्न हामी सक्षम छैनौं। अतः अन्तर्राष्ट्रिय सहकार्य गर्दै यसको व्यवसायिक प्रयोगको खाका बनाउन जरुरी छ।

४. कर्मचारीतन्त्र सुधारः
हाम्रो प्रशासन पारदर्शी, सक्षम र उत्तरदायी हुनुपर्छ। हायर एण्ड फायर जस्ता उत्तरदायित्वमुखी संवैधानिक व्यवस्था गर्न सकिन्छ।

५. वैदेशिक रोजगारी र सीप विकासः
CTEVT मार्फत प्रत्येक प्रदेशमा १ अर्बको लगानीमा तालिम केन्द्र खोलौं। प्रशिक्षित जनशक्तिलाई मात्र विदेश जान दिने नीति बनाऔं।

६. बजेट र योजना व्यवस्थापनः
बजेट विनियोजन प्रणाली वैज्ञानिक बनाइनुपर्छ। व्यक्ति होइन, आवश्यकता हेरेर योजना छनोट गरिनुपर्छ।

७. जल र ऊर्जा व्यवसायीकरणः
“नदी बोटलमा“ कार्यक्रम सुरु गरौं। अरबले पेट्रोल बेचेजस्तै, हामीले हिमनदीको शुद्ध जल विश्व बजारमा बेच्ने प्रोत्साहन निजी क्षेत्रलाई दिऔं।

८. खेलकुदको समग्र विकासः
खेलकुदलाई शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारसँग जोडेर राष्ट्रिय पहिचान बनाऔं। बी.पी. कोइराला स्पोट्र्स एकेडेमी मार्फत प्रत्येक पालिकामा वार्षिक प्रतियोगिता गरौं।

९. समन्वय र सुशासनः
तीन तहका सरकार र मन्त्रालयहरूबीच समन्वयको अभावले काम प्रभावकारी हुन सकेको छैन। स्पष्ट कार्यविभाजन र पारस्परिक जवाफदेहिता जरुरी छ।

१०. निर्वाचन सुधार र पारदर्शिताः
निर्वाचनको सम्पूर्ण खर्च राज्यले बेहोर्ने र उम्मेदवारले खर्च गरेको प्रमाणित भए कारवाही हुने नीति आवश्यक छ।

११. पार्टीको आन्तरिक सुदृढीकरणः
उम्मेदवार छनोट प्रक्रिया वैज्ञानिक बनाऔं। प्रदेश र स्थानीय तहको निर्णय त्यही तहलाई गराउने जिम्मेवारी दिऔं। नविकरण र सदस्यता वितरण सँगसँगै होस्।

१२. राष्ट्रिय एकता र संगठन सुदृढीकरणः
पार्टीको शक्ति एकता हो। विधि, विधान र अवसरको समानता विना त्यो सम्भव छैन। शेखर–विनोद, गगन–मोहनबीचको मतभेदलाई मित्रवत ढंगले समाधान गर्नुपर्छ।

प्रतिक्रिया