१२ असार २०८२, बिहिबार | June 27, 2025

लागूऔषध र्दुव्यसनीरहित घर अभियान सुरु


332
Shares

ललितपुर, १२ असार । ललितपुरमा लागूऔषध र्दुव्यसनीरहित घर अभियान सुरु भएको छ । बिहिबार एक समारोहबीच यो अभियान सुरु भएको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यता एवम् प्रहरी महानिरीक्षक दिपक थापाको समुपस्थितिमा ललितपुर सानेपामा बिहीबार आयोजित विशेष समारोहबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ शुभारम्भ भएको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका, जिल्ला प्रहरी परिसर ललितपुर र सामुदायिक सेवा केन्द्र सानेपाको संयुक्त आयोजनामा लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा उक्त अभियान शुभारम्भ भएको हो ।

सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको छ ।

सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रहरी महानिरीक्षक दिपक थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरे ।

अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक गोबिन्द थापा र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले चित्रकला र निबन्ध प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरे ।

समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध रोकथाम, नियन्त्रण एवम् अनुसन्धान लगायत हरेक क्रियाकलापमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।

समारोहमा प्रहरी महानिरीक्षक थापाले कानूनको प्रभावकारी कार्यान्वयनको साथसाथै समाजमा घटित हुने हरतरहका अपराधको नियन्त्रण, रोकथाम र अनुसन्धानको प्रमुख जिम्मेवारी नेपाल प्रहरीले प्राप्त गरेको उल्लेख गर्दै सुरक्षित, स्वस्थ र लागूऔषध रहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । लागूऔषध दुर्व्यसन र कारोबारमा देखिएका प्रवृत्ति र प्रभावलाई निस्तेज पार्न प्रहरी कर्मचारीहरूलाई थप दक्ष, नविनतम् प्रविधि र स्रोतसाधन युक्त बनाउँदै लैजाने उल्लेख गर्दै उहाँले लागूऔषध विरूद्धको अभियानमा निर्ममतापूर्वक अगाडि बढ्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, ललितपुर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेश कुमार महर्जन र सामुदायिक सेवा केन्द्र सानेपाका सचिव सुरेन्द्र खड्काले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले धन्यवाद मन्तव्य व्यक्त गरेको कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । नेपाल प्रहरी संगीत विद्यालयले लागूऔषध दुर्व्यसन विरूद्ध सचेतनामूलक नाटक प्रस्तुती एवम् समुदाय-प्रहरी साझेदारी सम्बन्धी नृत्य प्रस्तुत गरेको थियो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, ललितपुर महानगरपालिकाका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया