४ असार २०८२, बुधबार | June 18, 2025

ट्रम्पको निम्तो मोदीले मानेनन्, पाकिस्तान मामलामा अमेरिकी मध्यस्थता अस्वीकार


2.1k
Shares

एजेन्सी, ४ असार । भारतले पाकिस्तानसँगको गतिरोधको मामलामा अमेरिकी मध्यस्थता अस्वीकार गरेको छ । जी सेभेन समिटमा सहभागी हुन क्यानडा पुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन वार्तामा भारतले मध्यस्थकता कहिले स्वीकार नगर्ने बताएका हुन् ।

३५ मिनेट लामो टेलिफोन वार्ताबारे जानकारी दिदै भारतका विदेश सचिव विक्रम मिश्रीले पाकिस्तान मामलाको घटनाक्रमबारे ट्रम्पलाई मोदीले दिएको जफाव उदृत गर्दै भने, ‘भारतले न त मध्यस्थता स्वीकार गरेको थियो, न गर्छ न त कहिले गर्ने नै छ ।’ भारतमा मध्यस्थतालाई स्वीकार नगर्ने विषयमा राजनीतिक रुपमा एकमत रहेको समेत स्पष्ट पारेका थिए ।

मोदीले अपरेशन सिन्दूर अहिले पनि जारी रहेको बताएको मिश्रीले बताए । उनले भारतले पाकिस्तानविरुद्धको सैन्य कारबाही पाकिस्तानको आग्रहमा रोकेको बताएका थिए । मिश्रीले यसबारे जानकारी दिदै भने, ‘भारतले पाकिस्तानको आग्रहमा सैन्य कारबाही रोकेको थियो ।’ सैन्य कारबाही रोक्नु अघि भारत र पाकिस्तानबीच सैन्य सम्पर्क माध्यमबाट कुराकानी भएको मोदीले ट्रम्पलाई जानकारी दिएका थिए ।

ट्रम्पले भारत र पाकिस्तानबीचको गतिरोध अन्त गर्न आफूले मध्यस्थताको भूमिका निभाएको बताएका थिए । यसको जवाफ मोदीले टेलिफोन वार्तामा दिएका छन् । भारतका विदेश सचिव मिश्रीले विगतमा मोदीको ट्रम्पसँगको कुराकानीमा अमेरिकाद्वारा भारत र पाकिस्तानबीच मध्यस्थकर्ताको विषयमा कुराकानी नभएको बताए ।

यसैगरी, मोदीलाई अमेरिका भएर फर्कन गरेको ट्रम्पको आग्रहबारे पनि मिश्रीले खुलाए । तर, मोदीले व्यस्तता देखाउँदै नआउने जवाफ दिए । उनले ट्रम्पलाई अमेरिका भ्रमणको निम्तो दिए । मोदीको ट्रम्पसँग क्यानडामा भेटवार्ता तय थियो । तर, इरानसँग इजरायलको युद्धको विषयलाई लिएर ट्रम्प जी सेभेन समिट चलिरहँदा फर्किएका थिए ।

उता पाकिस्तानी सेना प्रमुख असिम मुनिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न वासिङ्टन पुगेका छन् । पाकिस्तानको भारतसँग तनावसँगै इरान र इजरायलबीच युद्ध चलिरहँदा मुनिर ट्रम्प भेट्न पुगेका हुन् । भारतले मुनिरको अमेरिका भ्रमणलाई चासोका साथ लिएको छ । यो घटनाबाट मोदी ट्रम्पसँग असन्तुष्ट देखिएका छन् । उनको असन्तुष्टि बुधबारको टेलिफोन वार्तामा पनि देखिएको छ । जसलाई विदेश सचिव विक्रम मिश्रीको भिडियो प्रस्तुतीबाट पनि बुझ्न सकिन्छ ।

प्रतिक्रिया