२०६४ यताका गृहमन्त्रीहरुमाथि छानबिनको माग

काठमाडौं, २० जेठ । देशमा जो जो गृहमन्त्री बने ती शक्तिशाली मात्र भएनन् विवादमा पनि आए । गृह मन्त्रालयमा शक्तिशाली नेताहरुको आकर्षण सधै रह्यो । यसका पछाडि शक्तिको भरपूर अभ्यास र कमाई ।
गृह मन्त्री भएर शक्ति आर्जन र धन आर्जन धेरैले गरेको तथ्यहरु बाहिर आइरहेको छ । यसकारण पनि अहिले गृह मन्त्री भइसकेकाहरुमाथि पनि छानबिनको माग उठेको छ । विपक्षी दलहरुको बैठकले ०६४ सालयताका सबै गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
मंगलबार बसेको नेकपा माओवादी केन्द्र, रास्वपा लगायत विपक्षी नेताहरूको छलफलले भिजिट भिसा प्रकरणमा अहिलेका गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको दाबीसहित ०६४ सालयताका सबै गृहमन्त्रीमाथि छानबिन गरिनुपर्ने निष्कर्ष निकालेको हो ।
त्यस्तै बैठकले भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति गठन गर्नुपर्ने र त्यसको परिणाम नआएसम्म गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने निर्णय गरेको छ । त्यसैरी, यसबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने उनीहरूको अर्को निष्कर्ष छ ।
रास्वपाका सांसद मनीष झाले संसदको अवरोध खुलाउन विभिन्न तीन बुँदे प्रस्ताव सम्बोधन हुनुपर्ने बताए । गृहमन्त्री रमेश लेखकको नाम भिजिट भिसा प्रकरणमा जोडिएपछि विपक्षीहरुले सदन अवरुद्ध गर्दै आएका छन् । यसले सत्तापक्ष र विपक्षमा विवाद बढेको छ ।