काँग्रेसमा हिन्दू राष्ट्रको पक्षमा उभिन तछाडमछाड

काठमाडौं, ६ जेठ । नेपाली काँग्रेसभित्र विगतमा सुसुप्त रहेको हिन्दूराष्ट्रको मुद्दा विस्तारै उजागर हुँदै गयो । संविधानमा धर्मनीरपेक्ष राखेपछि काँग्रेसका तत्कालीन नेता खुमबहादुर खड्कालगायत केही खुलेर विरोधमा लागेका थिए । तर, खड्कामाथि भ्रष्टाचारको मुद्दा लाग्यो, जेल गए । खड्काको निधन भइसकेको छ ।
खड्कासँग निकट शंकर भण्डारीले यो एजेन्डालाई बोके । उनले हिन्दूराष्ट्रको पक्षमा खुलेरै अभियान चलाइरहे । काँग्रेस महासमिति बैठकमा पनि हस्ताक्षर अभियान चलाए ।
काँग्रेसका संस्थापक नेता वीपी कोइरालाका पुत्र डा. सशांक कोइराला पनि हिन्दू राष्ट्रको पक्षमा खुले । काँग्रेस महामन्त्री समेत रहेका कोइरालाले बेला बेलामा यसबारे अभिव्यक्ति दिने गरेका छन् ।
काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला पनि हिन्दूराष्ट्रको पक्षमा खुलेका छन् । यसले तरंग ल्याएको छ । काँग्रेस महामन्त्री गगन थापाले पनि देशको धर्म हुने अभिव्यक्ति दिएका छन् । उनले धार्मिक स्वतन्त्रता भनेका छन् ।
काँग्रेसका प्रभावशाली नेता एनपी साउदलगायत नेता हिन्दूराष्ट्रको पक्षधर छन् । यो पक्षमा खुलेकामा नेविसंघ पूर्वसभापति रञ्जीत कर्ण पनि छन् ।
सभापति शेरबहादुर देउवा पनि यो मुद्दामा सकारात्मक बन्दै गएको बुझिएको छ । देउवा पत्नी आरजु राणा त धार्मिक गतिविधिमा सक्रियता बढाइरहेकी छिन् ।
काँग्रेसका अर्का प्रभावशाली नेता कुलबहादुर गुरुङले पनि कोर्स करेक्सनको विषय उठाएका छन् । उनलाई लक्ष्मण घिमिरे, विनयध्वज चन्द, लोकेश ढकाललगायत नेताको साथ छ ।
काँग्रेसभित्र यसरी हिन्दूराष्ट्रको पक्षमा बोल्ने तछाडमछाड चलेको छ । कुनैपनि बेला काँग्रेसले हिन्दूराष्ट्रको मुद्दा बोक्ने माहोल तयार हुने अवस्था सृजना भएको छ ।