पाकिस्तानको हतियारविरुद्ध भारतको ढाल बनेको एस ४०० के हो

एजेन्सी, १ जेठ । पाकिस्तानले चीनमा बनेको हतियारको अत्याधिक प्रयोग गरेको चर्चा छ यतिबेला । भारतविरुद्ध उसले प्रयोग गरेका हतियारमा टर्कीको ड्रोन पनि थियो । अमेरिकी हतियार पनि पाकिस्तानले निकै किन्ने गरेको छ । त्यसको प्रयोग भने खुलेको छैन ।
पाकिस्तानले चीन र टर्कीमा निर्मित हतियारको प्रयोग भारतविरुद्ध गरेपनि प्रतिरक्षाका लागि प्रयोग हुने रुसको हतियारको प्रभावकारिताले ठूलै चर्चा पाइरहेको छ । एस ४०० हतियारको नाम भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सम्बोधनका क्रममा लिए । उनले पाकिस्तानको आक्रमणलाई एस ४०० जस्ता प्रतिरक्षा प्रणालीले निस्तेज पारिदिएको बताए ।
एस ४०० रुसमा निर्मित हतियार हो । हवाई प्रतिरक्षा प्रणाली एस ४०० ले भारतलाई ठूलो शक्ति दिएको थियो पाकिस्तानसँगको भिडन्तमा । भारतले पहिलोपटक एस ४०० को प्रयोग गर्यो । पञ्जाब र राजस्थान जस्ता पाकिस्तानसँग सीमा जोडिएका संवेदनशील राज्यहरुमा यसको प्रयोग भएको हो । यसले भारतलाई आउनलागेको खतरालाई निस्तेज पारिदिएको थियो ।
एस ४०० ले ३७० किलोमिटर टाढा नै हतियारलाई निस्तेज पार्ने सामथ्र्य राख्ने गरेको उल्लेख छ । भारतले यसको प्रयोगबाट आफूमाथि प्रहार भएका हतियारलाई ३७० किलोमिटर टाढा नै निस्तेज पारिदियो । जसका कारण पाकिस्तानले प्रहार गरेका हतियार भारतमा आउन नपाउँदै पाकिस्तानमै खस्न पुगे ।
भारतले ५ अर्ब ४३ करोड डलरको एस ४०० हवाई सुरक्षा प्रणालीसम्बन्धी सम्झौता गरेको थियो २०१८ मा । चीनले त्यतिबेलासम्म एस ४०० लिएर तिब्बतमा प्रयोग गरिसकेको थियो । २०२१ मा एस ४०० भारतमा पुग्न थाल्यो । २०२५ सम्म सबै संख्याका एस ४०० भारत पुगिसक्छ ।
एस ४०० ले हवाई प्रतिरक्षा गर्छ । युद्धक विमान, हेलिकोप्टर, ड्रोन, मिसाइल बम, ब्यालिस्टिक मिसाइललाई असफल तुल्याइदिन्छ । चीनले पनि यो प्रणाली खरिद गरेको छ । टर्कीले पनि किनिसकेको छ । साउदी अरब, अल्जेरिया, इरान र ल्याटिन अमेरिकी देशहरुले एस ४०० हवाई सुरक्षा प्रणाली खरिद गर्न खोजिरहेका छन् ।