भारतले न्युक्लियर ब्ल्याकमेल सहने छैन

नरेन्द्र मोदी: विगतका दिनहरुमा, हामी सबैले हाम्रो देशको सामथ्र्य र संयम दुवै देखेका छौं । सबैभन्दा पहिले, भारतीय जनताको तर्फबाट, म भारतका वीर सेना, सशस्त्र बल, हाम्रा गुप्तचर निकायहरु र हाम्रा वैज्ञानिकहरुलाई सलाम गर्दछु । हाम्रा वीर सैनिकहरुले अपरेशन सिन्दूरका उद्देश्यहरु प्राप्त गर्न असीम साहस प्रदर्शन गरे । म उनीहरुको बहादुरी,साहस र पराक्रमलाई नमन गर्दछु । यो वीरता देशका हरेक आमा, हरेक दिदीबहिनी र हरेक चेलीबेटीलाई समर्पित गर्दछु ।
साथीहरु,
अप्रिल २२ मा पहलगाममा आतङ्ककारीहरुले देखाएको बर्बरताले सम्पूर्ण देश र विश्वलाई स्तब्ध बनाएको थियो । धर्मको आधारमा निर्दोष नागरिकहरुको परिवार र उनीहरुका बच्चाहरुको सामु निर्दयी हत्या आतङ्क र क्रूरताको एक विभत्स अनुहार थियो । यो देशको सद्भाव र एकता तोड्ने घृणित प्रयास पनि थियो । मेरो लागि व्यक्तिगत रुपमा यो निकै नै पीडादायी थियो । यो आतङ्कवादी हमला पछि, सम्पूर्ण राष्ट्र, प्रत्येक नागरिक, प्रत्येक समुदाय, प्रत्येक वर्ग, प्रत्येक राजनीतिक दल, एकजुट भएर आतङ्कवाद विरुद्ध कडा कारबाहीको लागि उभिए । आतङ्ककारीहरुलाई सखाप पार्न हामीले भारतीय सेनालाइ पूर्ण स्वतन्त्रता दियौं । र आज हरेक आतङ्ककारी, हरेक आतङ्कवादी संगठनलाई हाम्रा दिदीबहिनी र छोरीचेलीहरुको सिन्दूर मेटाउदाको परिणाम के हुन्छ थाहा भएको छ ।
साथीहरु,
अपरेशन सिन्दूर केवल एउटा नाम मात्र होइन, यो देशका करोडौं जनताको भावनाको प्रतिबिम्ब हो । अपरेशन ‘सिन्दूर’ न्यायप्रतिको हाम्रो अखण्ड प्रतिज्ञा हो । मे ६ को अबेर राति र मे ७ को बिहान, सम्पूर्ण विश्वले यो प्रतिज्ञालाई वास्तविकतामा परिणत भएको देख्यो । भारतीय सेनाले पाकिस्तानमा रहेका आतङ्कवादी लुक्ने ठाउँहरु र उनीहरुका तालिम केन्द्रहरुमा बडो सटीकताका साथ आक्रमण गर्यो । भारतले यति ठूलो निर्णय लिन सक्छ भनेर आतङ्ककारीहरुले कहिल्यै कल्पना गरेका थिएनन् । तर जब देश एकजुट हुन्छ, राष्ट्र प्रथमको भावनाले ओतप्रोत हुन्छ र राष्ट्रिय हित सर्वोपरि हुन्छ, तब बलिया निर्णयहरु लिइन्छ र परिणामहरु प्राप्त हुन्छन् ।
जब भारतको मिसाइल र ड्रोनले पाकिस्तानमा रहेका आतङ्कवादी अड्डाहरुमा आक्रमण गर्यो, आतङ्कवादी संगठनहरुको भवन मात्र नभएर उनीहरुको साहस पनि नराम्रोसँग डगमगाएको थियो । बहावलपुर र मुरीदके जस्ता आतङ्कवादी अड्डाहरु विश्वव्यापी आतङ्कवादका विश्वविद्यालयहरु हुन् । विश्वका ठूला आतङ्कवादी हमलाहरु, चाहे त्यो ९/११ होस्, लन्डन ट्युब बम विस्फोट होस्, वा पछिल्ला धेरै दशकहरुमा भारतमा भएका ठूला आतङ्कवादी हमलाहरु हुन्, तिनीहरुको सम्बन्ध कुनै न कुनै रुपमा यी आतङ्कवादी लुक्ने ठाउँहरुसँग जोडिएको छ । आतङ्ककारीहरुले हाम्रा दिदीबहिनीहरुको सिन्दूर मेटाएका थिए र भारतले उनीहरुको आतङ्कवादी मुख्यालय ध्वस्त पारेर प्रतिक्रिया दियो । भारतद्वारा गरिएका यी आक्रमणहरुमा १०० भन्दा बढी खतरनाक आतङ्कवादीहरु मारिएका छन् । धेरै आतङ्कवादी नेताहरु विगत साढे दुई–तीन दशकदेखि पाकिस्तानमा स्वतन्त्र रुपमा घुमिरहेका थिए जसले भारत विरुद्ध षड्यन्त्र रच्थे । भारतले एकै प्रहारमा उनीहरुलाई मारिदियो ।
साथीहरु,
भारतको यो कार्यबाट पाकिस्तान अत्यन्तै निराश र दुःखी भयो । यो अन्यालमा प¥यो र यसै अन्योलबीच उसले अर्को कायरतापूर्ण कार्य गर्यो । आतङ्कवाद विरुद्ध भारतको हमलालाई समर्थन गर्नुको सट्टा पाकिस्तानले भारतमाथि नै आक्रमण गर्न थाल्यो । पाकिस्तानले हाम्रा विद्यालय, कलेज, गुरुद्वारा, मन्दिर र सर्वसाधारणहरुको घरलाई निशाना बनायो । पाकिस्तानले हाम्रो सैन्य अड्डालाई निशाना बनायो । तर यस कार्यमा पाकिस्तानको आफ्नै पर्दाफास भयो । विश्वले देख्यो की कसरी पाकिस्तानका ड्रोन र मिसाइलहरु भारतको अगाडि पराल जस्तै खसे । भारतको बलियो वायु रक्षा प्रणालीले तिनीहरुलाई आकाशमै नष्ट पारिदियो । पाकिस्तानले सीमामा आक्रमणको तयारी गरेको थियो तर भारतले पाकिस्तानको मुटुमा प्रहार गर्यो । भारतका ड्रोन र मिसाइलहरुले सटीकताका साथ आक्रमण गरे । तिनीहरुले पाकिस्तानी वायु सेनाका ती एयरबेसहरुलाई क्षति पुर्याए जसमा पाकिस्तानलाई धेरै गर्व थियो । भारतले पहिलो तीन दिनमा नै पाकिस्तानलाई ठूलो क्षति पुर्यायो जुन उसले कहिल्यै कल्पना गरेको थिएन । त्यसैले भारतको आक्रामक कारबाही पछि, पाकिस्तानले भाग्ने उपाय खोज्न थाल्यो । तनाव कम गर्न पाकिस्तान विश्वलाई बिन्ती गरिरहेको थियो । र भारी क्षति बेहोरेपछि, पाकिस्तानी सेनाले मे १० को दिउँसो हाम्रो डीजीएमओलाई सम्पर्क गर्यो । त्यतिन्जेलसम्म हामीले ठूलो मात्रामा आतङ्कवादको पूर्वाधार नष्ट गरिसकेका थियौं । आतङ्ककारीहरुलाई समाप्त पारिसकेका थियौं । हामीले पाकिस्तानको मुटुमा स्थापित आतङकवादी अड्डाहरु नष्ट गरिसकेका थियौं । त्यसकारण, जब पाकिस्तानले अपील गर्यो र भन्यो कि यो अब कुनै पनि प्रकारको आतङ्कवादी गतिविधि वा सैन्य दुस्साहसमा संलग्न हुनेछैन, भारतले यसमाथि विचार गर्यो । र म फेरी पनि भन्दैछु, हामीले पाकिस्तानको आतङ्क र सैन्य अखडाहरु विरुद्धको हाम्रो जवाफी कारबाही हाललाई स्थगित गरेका छौं । आगामी दिनहरुमा हामी पाकिस्तानको प्रत्येक कदमलाई पाकिस्तानले कस्तो रवैया अपनाउनेछ भन्ने मापदण्डमा मापन गर्नेछौं ।
साथीहरु,
भारतका तीनवटै सेनाहरु—हाम्रो वायुसेना, हाम्रो सेना र हाम्रो नौसेना, हाम्रो सीमा सुरक्षा बल (बीएसएफ), भारतका अर्धसैनिक बलहरु, निरन्तर सतर्क अवस्थामा छन् । सर्जिकल स्ट्राइक र एयर स्ट्राइकपछि अब अपरेशन सिन्दूर आतङ्कवादविरुद्ध भारतको नीति बनेको छ । अपरेशन सिन्दूरले हाम्रो आतङ्कविरुद्धको लडाइँमा नयाँ मापदण्ड स्थापना गरेको छ र नयाँ मानक तय गर्नुका साथै न्यु नर्मल समेत स्थापना गरेको छ ।
पहिलो, यदि भारतमाथि आतङ्कवादी आक्रमण भयो भने त्यसको उचित जवाफ दिइनेछ ।
हामी हाम्रो सर्तहरुमा मात्र उचित जवाफ दिनेछौँ । हरेक ती ठाउँमा गएर हामी कडा कारबाही गर्नेछौं जहाँबाट आतङ्कवाद मौलाउँछ ।
दोस्रो, भारतले कुनै पनि किसिमको न्युक्लियर ब्ल्याकमेल सहने छैन । न्युक्लियर ब्ल्याकमेलको आडमा विकास गरिएका आतङ्कवादी लुक्ने ठाउँहरुमा भारतले सटीक र निर्णायक रुपमा प्रहार गर्नेछ ।
तेस्रो, हामी आतङकवादलाई सहयोग गर्ने सरकार र आतङ्कवादीका योजनाकारहरुबीच कुनै भिन्नता गर्ने छैनौँ । अपरेशन सिन्दूरका दौरान जब शीर्ष पाकिस्तानी सेनाका अधिकारीहरु मारिएका आतङ्कवादीहरुलाई बिदाइ गर्न आए तब संसारले एकपटक फेरी पाकिस्तानको घीनलाग्दो अनुहार देख्यो । यो राज्यद्वारा सहयोग गरिएको आतङ्कवादको बलियो प्रमाण हो । हामी भारत र आफ्नो नागरिकहरुलाई कुनै पनि खतराबाट जोगाउन निरन्तर निर्णायक कदम चालिरहनेछौँ ।
साथीहरु,
हामीले प्रत्येकपटक युद्धभूमिमा पाकिस्तानलाई पराजित गरेका छौँ । र यसपटक अपरेशन सिन्दूरले एक नयाँ आयाम थपेको छ । हामीले मरुभूमि र पहाडहरुमा आफ्नो क्षमता प्रदर्शन गरेका छौँ र न्यु एज वारफेयरमा पनि आफ्नो श्रेष्ठता प्रमाणित गरेका छौँ । यस अपरेसनका क्रममा ‘मेड इन इन्डिया’ हतियारहरुको विश्वासनीयता पनि प्रमाणित भएको छ । आज संसार देखिरहेको छ की २१औँ शताब्दीको वारफेयरमा ‘मेड इन इन्डिया’ रक्षा उपकरणहरुको समय आइसकेको छ ।
साथीहरु,
सबै प्रकारका आतङ्कवाद विरुद्ध हाम्रो एकता हाम्रो सबैभन्दा ठूलो शक्ति हो । यो निश्चित रुपमा युद्धको युग होइन, तर यो आतङ्कवादको युग पनि होइन । आतङ्कवाद विरुद्ध शून्य सहनशीलता नै राम्रो संसारको ग्यारेन्टी हो ।
साथीहरु,
जसरी पाकिस्तानी सेना, पाकिस्तान सरकारले आतङ्कवादलाई प्रोत्साहन गरिरहेको छ, त्यसले एक दिन पाकिस्तानलाई नै समाप्त पार्नेछ । यदि पाकिस्तान जिउन चाहन्छ भने उसले आफ्नो आतङ्कवादी पूर्वाधारलाई नष्ट गर्नुपर्नेछ । यसबाहेक शान्तिको अर्को कुनै बाटो छैन । भारतको अडान एकदम स्पष्ट छ … आतङ्क र वार्ता सँगै जान सक्दैनन् … आतङ्क र व्यापार सँगै जान सक्दैनन् …. पानी र रगत सँगै बग्न सक्दैनन् ।
आज म विश्व समुदायलाई पनि भन्न चाहन्छु की हाम्रो घोषित नीति यस्तो रहेको छ, यदि पाकिस्तानसँग वार्ता हुन्छ भने त्यो केवल आतङ्कवादबारे हुनेछ, र यदि पाकिस्तानसँग वार्ता हुन्छ भने त्यो केवल पाकिस्तान अधिकृत कश्मीर (पीओके) का बारेमा हुनेछ ।
प्रिय देशवासीहरु,
आज बुद्ध पूर्णिमा हो । भगवान बुद्धले हामीलाई शान्तिको मार्ग देखाउनुभएको छ । शान्तिको मार्ग पनि शक्ति हुँदै जान्छ । मानवता शान्ति र समृद्धितर्फ अघि बढ्नुपर्छ । प्रत्येक भारतीयले शान्तिपूर्वक बाँच्न सकुन् र उनीहरुले विकसित भारतको सपना पूरा गर्न सकुन् । यसका लागि भारत शक्तिशाली हुनु अत्यावश्यक छ । र आवश्यक पर्दा यो शक्ति प्रयोग गर्नु पनि जरुरी छ । पछिल्ला केही दिनहरुमा भारतले यही काम गरेको छ ।
म फेरी एकपटक भारतीय सेना र सशस्त्र बलहरुलाई सलाम गर्दछु । प्रत्येक भारतीयको साहस र भारतवासीहरुको एकताको शपथ तथा संकल्पलाई म नमन गर्दछु ।
धन्यवाद !
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ