पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवास बोलाएर राप्रपा नेताहरुलाई के भने

काठमाडौं, ६ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाट बढाएका छन् । उनले राजतन्त्र पुनःस्थापनाका लागि राजावादीलाई एक हुन समेत दबाब दिएका छन् ।
पूर्वराजा शाहले राप्रपाका नेताहरुलाई भेटेर सबै राजावादीलाई एक हुन आग्रह गरेको बुझिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेताहरु पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनीका अलावा विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीलाई निर्मल निवासमा दिउँसो बोलाएर शाहले डेढ घन्टा कुराकानी गरेका थिए । विश्वस्त स्रोतका अनुसार शाहले राजावादी आन्दोलनका लागि एकढिक्का हुन भनेका थिए ।
पूर्वराजाले आन्दोलनका लागि बनेको समितिलाई साथ दिन भनेका थिए । पूर्वराजा शाहले पक्राउ परेका दुर्गा प्रसाईँ, धबल शमशेर राणा र रवीन्द्र मिश्रबारे पनि चासो राखेका थिए । उनले कठिन घडीमा एक हुनुको विकल्प नभएको भन्दै सम्झाएका थिए ।
राप्रपा अध्यक्ष लिङ्देनसहित केही नेताहरुले आन्दोलनको नेतृत्व राप्रपाले गर्ने विषय राखेको बुझिएको छ । बरु आन्दोलनको सर्वोच्च कमाण्डरका रुपमा साझा व्यक्तिलाई राख्ने विषय पनि राखेका थिए ।
यसैगरी, राजावादी आन्दोलनका नेता डा. जगमान गुरुङले २०८२ को जेठ १५ मा गणतन्त्र अन्त भई हिन्दूराष्ट्र घोषणा हुने दाबी गरेका थिए ।