माधवले बनाएका प्रदीपको रविसँग साँठगाँठ

काठमाडौं, १५ चैत्र । नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक प्रदीप अधिकारीलाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको ठाडो आदेशमा नियुक्ति दिलाइएको थियो । तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले बनाउन नचाहँदा नचाहँदै अधिकारीलाई कमिशनको खेलमा बनाउन लगाइयो । त्यो पनि क्याबिनेटमा गइसकेको फाइल रोक्न लगाएर केही महिनापछि ।
माधव नेपालको दल चलाउन प्रदीप अधिकारीले भरपूर सहयोग गरे । २०७९ को चुनावमा माधव नेपालको प्रमुख चन्दादाता नै बने उनी । तर, पछिल्लो समय प्रदीपले माधव नेपालसँग दूरी बढाउँदै लगेको बुझिएको छ ।
शक्तिकेन्द्र रिझाउन खप्पिस प्रदीप अधिकारी अहिले चितवनका सांसद हरि ढकालमार्फत् रविसँग नजिकिएका छन् । रविको धरौटी खुलाउन उनले पनि खेल खेलेको विश्वस्त स्रोतले नेपाली पेनलाई बताएको छ ।
धरौटी खुलाउन न्यायालयभित्र ठूलै चलखेल चलेको थियो । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसमेत लागेका थिए । त्यसमा प्रदीप अधिकारीले समेत भूमिका खेलेको बुझिएको छ ।
आरजु देउवालाई भाउजु भन्दै सम्बन्ध सुमधुर बनाएका प्रदीप शक्तिकेन्द्र रिझाउन खप्पिस छन् । पर्यटनमन्त्री बद्री पाण्डे उनीसँग रुष्ट छन् तर भाजुलाई रिझाएर पदमा टिक्न खोजेका छन् । रविसँग प्रदीपको गहिरो साइनोबारे बुढानिलकण्डसम्म सूचना पुगेपछि भने नयाँ घटना विकास भइसकेको छ ।
एकपछि अर्को कमिशन र भ्रष्टाचारमा मुछिएका प्रदीपका सहयोगीहरु समेत विवादास्पद पात्रहरु हुन् । जसमध्ये प्रकाश ढकाल विवादास्पत ठेकेदार हुन् । उनी योजनावद्ध तरिकाले ठेक्का हत्याउने र ठेक्का दिलाउने क्रियाकलापमा लागेका छन् । अमेरिकाबाट प्रदीपले बोलाएर विचौलिया बनाएका अर्जुन खड्का प्रहरीको जागिर छाडी उतै बस्दै आएका छन् । उनी अमेरिकी नागरिक हुन् तर नेपालमा नेपाली नागरिक बनेर बिचौलियाको भूमिकामा छन् । प्रदीपको कमिशनको व्यवस्थापनमा मुख्य भूमिका उनैले गर्दै आएको बुझिएको छ ।