१७ चैत्र २०८१, सोमबार | April 1, 2025

गोदावरी खोलाको पानी सिधै ट्यांकरमा हालेर बेचबिखन, ट्यांकर आतंकले सडक ध्वस्त


43.4k
Shares

ललितपुर, १३ चैत्र । देशमा नगरपालिकाको मेयर उपमेयर गतिलो नभए के हुन्छ भन्ने उदाहरण बनेको छ महालक्ष्मी नगरपालिका । काठमाडौं उपत्यकाभित्रको एकमात्र स्वच्छ खोला गोदावरी खोला सुकाउने र ढल मिलाउने गतिविधिलाई नगरपालिकाका पदाधिकारी नदेखेजस्तो र थाहा नपाएजस्तो गरी आँखा चिम्लिएर बसेका छन् ।

गोदावरी खोलामा विष्णुडोल जाने पुलमा एउटा गिरोहले योजनावद्ध रुपमा वर्षौदेखि पानी बेच्दै आएको छ । खोलाको पानी सिधै थुनेर ट्यांकरमा भर्ने र बेच्न गरिएको छ । अर्कोतर्फ, ट्यांकरले सिद्धिपुर शंखादेवी सडकखण्ड बिगारेर बर्बाद पारिसकेको छ ।

सिद्धिपुरबाट गोदामचौर जाने सडकको पुलनजिक पनि धमिलो खोलाको पानी सिधै ट्यांकरमा भरेर विक्री गर्ने समूह सक्रिय छ । उक्त सडकखण्डमा ढल हाल्न थालेपछि ट्यांकरले चारघरे, शंखादेवी, विष्णुडोल क्षेत्रको सडक बिगार्न थालेको छ ।

गोदावरी खोला जोगाउन विष्णुडोल, चारघरे, गोदामचौर क्षेत्रका जनताले कहीं कतै ढल मिसाउन दिएका छैनन् । पानीको मुहान संरक्षण गर्दै आएका छन् । तर, महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधि र भ्रष्ट कर्मचारीको मिलेमतोमा खोलाको पानी सिधै ट्यांकरमा हालेर बेच्ने र बाटो भत्काउने गतिविधि हुँदै आएको छ । जबकि सिद्धिपुर शंखादेवी सडकखण्डको सडक निर्माणमा यस क्षेत्रका जनप्रतिनिधिहरुको कुनै योगदान छैन ।

गोदावरी खोलाको पानी सिधै ट्यांकरमा हालेर बेच्दा नगरपालिका के हेरेर बसेको भनी नेपाली पेनले सूचना अधिकारी इन्द्र प्रसाद अधिकारीसँग बुझ्दा कर लिएर पानी बेच्नेहरुलाई चाँडै व्यवस्थित गर्ने दाबी गरे । खोलाको पानी कर लिएर बेच्न पाइन्छ भनी सोध्दा उनले केही जवाफ दिन सकेनन् ।

सिद्धिपुर शंखादेवी सडकखण्डमा ट्यांकर आतंक चलिरहेको र ढल हाल्ने नाममा तीनवर्ष देखि तीन सय मिटर सडक ध्वस्त पारिएकोमा थप ढल हाल्न टेन्डर निकाल्न लागिएको बताए । तर, पीच भत्काएकोमा पुनः पिच भने यो वर्ष नहुने जवाफ दिए ।

सिद्धिपुरबाट गोदामचौर जाने सडकखण्डमा ढल हाल्न लागेकोमा उनले वर्षाको पानी मात्र पठाइने दाबी गरे । जबकि वर्षाको पानी जान ढल हाल्न पर्दैन कुलो बनाए पुग्छ । वर्षाको पानी पठाउने भन्दै मलमुत्र मिसाउने गतिविधि नगरपालिकाको योजनामा बुन्न लागिएको छ । विगतमा लुभुबाट विष्णुडोलमा पनि यसरी नै झुक्याएर ढल जोडेर खोलालाई प्रदूषित पार्न थालिएको छ ।

महालक्ष्मी नगरपालिकामा एमालेका हरिगोविन्द श्रेष्ठ मेयर छन् भने उपमेयर काँग्रेसकी लक्ष्मी महर्जन छन् । सिद्धिपुरमा माओवादीका वडाध्यक्ष छन् भने लुभु क्षेत्रमा एमालेका वडाध्यक्ष छन् । जथाभावी ढल हाल्ने, बाटो बिगार्ने, गोदावरी खोला प्रदूषित पार्ने देखि खोलाको पानी बेच्ने गतिविधिमा एमाले, काँग्रेस र माओवादीका स्थानीय नेताहरुबीच सहमति बनेको भेटिएको छ । ठूलो कमिशनको खेलमा यस्ता गतिविधि भइरहँदा जनप्रतिनिधि र कर्मचारी आँखा चिम्लिएर बसेका छन् ।

प्रतिक्रिया